हल्दीबारी, झापा — हल्दीबारी माध्यमिक विद्यालयको ५३औँ वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष टिका राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा, अनुशासन र योगदानका आधारमा अभिभावक, विद्यार्थी, शिक्षक तथा अक्षयकोषदातालाई कदरपत्रसहित सम्मान गरिएको थियो।

उत्सवका अवसरमा विद्यालयका पूर्व शिक्षक भीमबहादुर श्रेष्ठले २ लाख ५१ हजार ११५ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्दै उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिनलाई हस्तान्तरण गर्नुभयो।

सो अक्षयकोषबाट प्राप्त ब्याज रकममार्फत कक्षा ८, ९ र १० मा अध्ययनरत अति विपन्न तथा जेहनदार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ।


त्यसैगरी, समाजसेवी एवं महासचिव कृष्णप्रसाद पर्साई र समाजसेवी तथा नेपाल चिया उत्पादक संघका केन्द्रीय महासचिव शुक्र दाहालले संयुक्त रूपमा अति विपन्न विद्यार्थीका लागि २५ जोर ट्र्याकसुट प्रदान गर्नुभयो।

साथै, उहाँहरूले विद्यालयलाई करिब ३० हजार रुपैयाँ मूल्य बराबरका विद्युत् पंखा समेत सहयोगस्वरूप उपलब्ध गराउनुभएको छ।

कार्यक्रममा विभिन्न दाताहरूले स्थापना गरेका अक्षयकोषमार्फत उपलब्ध छात्रवृत्ति रकम विद्यार्थीहरूलाई वितरण गरिएको थियो। साथै, विद्यालयमा करिब तीन लाख रुपैयाँ बराबरको खानेपानी व्यवस्थापनमा सहयोग पुर्याएको २०४७ सालका विद्यार्थी समूहलाई विशेष सम्मान गरिएको थियो।
विविध खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा सहभागीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, विद्यालयका संस्थापक प्रधानाध्यापक नरेन्द्रकुमार कार्की , नेपाली कांग्रेस हल्दीबारी गाउँ समिति सभापति गङ्गा प्रसाद प्रसाई लगायतले विद्यालयको शैक्षिक गतिविधि, उपलब्धि र आगामी योजनाबारे मन्तव्य राख्नुभएको थियो।
विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक रमेश पौडेलले गर्नुभएको थियो भने सहजीकरण सहायक प्रधानाध्यापक तुलसी कोइरालाले गर्नुभएको थियो। कार्यक्रममा पूर्व प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चारकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
उत्सवका क्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नुका साथै विज्ञान संकायका विद्यार्थीहरूले विज्ञान प्रदर्शनी आयोजना गरेका थिए।

















