झापा। हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारणसभाअन्तर्गत अन्तिम इकाइगत साधारणसभा कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको छ।

भद्रपुरस्थित किरात सभा हलमा सम्पन्न सभामा मंगलबारे, चन्द्रगढी, सोमबार र बनिनी सेवा केन्द्रअन्तर्गतका सदस्यहरूको सहभागिता रहेको थियो। यससँगै आगामी पुस १० गते बिर्तामोडमा हुने १३औँ वार्षिक साधारणसभाअघि सबै इकाइगत साधारणसभा सम्पन्न भएका छन्।


झापा, मोरङ र इलामका २२ स्थानीय तहअन्तर्गत ३१ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको सहकारीमा हाल ३९ हजार १०५ जना सदस्य रहेका छन्। तीमध्ये ८ हजार ६९५ जना बाल बचतकर्ता र ६२२४ जना ऋणी सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ।

संस्थाको सेयर पुँजी १८ करोड ५१ लाख ७०० रुपैयाँ रहेको छ भने हालसम्म १ अर्ब ९५ करोड १२ लाख २३ हजार ५८५ रुपैयाँ ६८ पैसा ऋण लगानी गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा संस्थाको कुल आम्दानी ४४ करोड ५५ लाख ८१ हजार ८०५ रुपैयाँ ८० पैसा रहेको छ भने खर्च ४४ करोड ८२ लाख ३२ हजार ६९ रुपैयाँ ९५ पैसा पुगेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ।

कार्यवाहक अध्यक्ष गौतमले आगामी वर्षदेखि फजुल खर्च कटौती गर्दै मितव्ययिता अपनाइने जानकारी दिनुभयो। उहाँका अनुसार बैठक भत्ता ८ हजार रुपैयाँबाट घटाएर ३ हजार रुपैयाँ बनाइनेछ भने वर्षमा १२ वटा बैठक भत्ताभन्दा बढी लिन नपाइने व्यवस्था गरिनेछ। साथै कर्मचारीको तलबसमेत केही मात्रामा कटौती गरिने बताइएको छ।

सभामा अध्यक्षको प्रतिवेदन कार्यवाहक अध्यक्ष गौतम र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक अर्जुन लामाले प्रस्तुत गर्नुभएको थियो। स्वागत मन्तव्य रेणुका प्रधानले राख्नुभएको कार्यक्रममा सहजीकरण संस्थाका व्यवस्थापक सरोज दाहालले गर्नुभएको थियो।

साधारणसभाले सदस्यहरूले प्राप्त गर्ने सेवा–सुविधासम्बन्धी प्रस्ताव र १३औँ वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
