हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

७० वर्षीय रामकुमार बराइली : गोलधाप बजारमा पुर्ख्यौली पेशाको जीवन्त उदाहरण

नेत्र बिक्रम बिमली/हल्दीबारी, झापा । “अब मेरो श्वाससँगै यो पेशा सकिँदैछ…” — यो भनाइ हो झापा हल्दीबारी–१, गोलधाप बजारका ७० वर्षीय रामकुमार बराइलीको, जसले जीवनभर आफ्नो पुर्ख्यौली पेशालाई अंगाल्दै आए।

Advertisement

धनकुटाको पाख्रीबासमा जन्मिएका बराइलीले २०३४ सालदेखि झापाको साविक गोलधाप बजारमा फलामका सामग्रीहरू बनाउने परम्परागत व्यवसाय सुरु गरे। ‘दुर्गा फलाम रिपेरिङ सेन्टर’ नामक सानो पसलमा उनले खुकुरी, बञ्चरो, हसिया, चुलेसीजस्ता दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरू बनाउन थाले।

Advertisement

आज पनि उनी आफ्नै हातले फलाम ताताएर परम्परागत औजारहरू तयार पारिरहेका छन्। श्रीमतीको साथमा अहिले उनी गोलधापमै एक्लो जीवन बिताइरहेका छन्। दुई छोरा, दुई छोरी र सात नातिनानीका बिचमा रमाउनुपर्ने उमेरमा उनी आफैँ पसलमा फलाम कुटिरहेका छन्।

बराइलीका एक छोरा भारतीय सेनामा छन् भने अर्का वैदेशिक रोजगारीमा दुबईमा छन्। छोरीहरू विवाहपछि आ–आफ्नै घरमा बसेका छन्। सन्तान सबैले झापाको मुख्य सहर बिर्तामोडलाई आफ्नो बसोबास बनाएका छन्। तर रामकुमारलाई भने आफ्नो कर्मभूमि गोलधाप बजार नै प्यारो छ।

उनले भने, “मेरो जीवन यसैमा बित्यो। यो फलाम कुट्ने पेशा नै मेरो सास हो। तर अब यो सँगै म मात्रै बाँकी छु, म पछि यो पनि सकिने भयो।”

पुर्ख्यौली सीपमा जीवन बिताएका बराइलीजस्ता व्यक्तिहरू समाजका लागि प्रेरणा हुन्। तर यस्तो परम्परागत पेशालाई संरक्षण गर्न राज्य वा स्थानीय सरकारको ध्यान कति छ? त्यो अझै उत्तर खोजिरहेको प्रश्न हो। साथै, नयाँ पुस्ता यस्ता मौलिक पेशातर्फ किन आकर्षित हुन सकेका छैनन्? यो प्रश्न पनि हाम्रो समाजको आत्मसमीक्षाको विषय बनेको छ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)