झापाको अर्जुनधारामा आपसी विवादका क्रममा एक युवकले धकेल्दा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका वडा नं. ८ कुशलचोक बस्ने २९ वर्षीया काजल बस्नेत सुवेदी रहेकी छन्। घटनामा संलग्न सोही नगरपालिका वडा नं. ५ कञ्चनबारी बस्ने २४ वर्षीय किरण गौतमलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ।

​प्रहरीका अनुसार आइतबार राति साढे ९ बजेको समयमा अर्जुनधारा–८ कुशलचोकस्थित एआईएमएस सेकेन्डरी बोर्डिङ स्कुलको पश्चिम तर्फ रहेको खुला चौरमा उनीहरूबीच विवाद भएको थियो। अत्यधिक मदिरा सेवन गरेका उनीहरूबीच के कुन विषयमा विवाद भई अभियुक्त किरण गौतमले काजललाई धकेल्दा उनी चौरको बीचमा सिमानाका लागि बनाइएको कन्क्रिटको प्लममा ठोक्किन पुगेकी थिइन्। कन्क्रिटमा ठोक्किएर टाउकोमा गम्भीर चोट लागी बेहोस भएकी उनलाई स्थानीयवासीले फेला पारेर उपचारका लागि तत्काल स्थानीय शंकर अस्पताल पठाएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल हुँदै प्रादेशिक मेची अस्पताल भद्रपुर पुर्‍याइएकोमा उपचारकै क्रममा सोमबार बिहान ४:४० बजे उनको मृत्यु भएको हो।

​घटनाका सम्बन्धमा मृतककी दिदी प्रतिमा भट्टराईले प्रहरीमा जाहेरी दिएकी छन् भने मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा हाल दुबईमा रहेको बुझिएको छ। इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले अभियुक्त गौतमलाई घटनास्थलबाटै नियन्त्रणमा लेकर मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट पहिलो पटक ५ दिनको म्याद थप गरी अभियुक्तलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार