भद्रपुर, झापा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक डा. महावीर पुनले सपना पूरा गर्न लक्ष्यप्रति इमान राखी निरन्तर प्रयत्न गर्नुपर्ने बताएका छन्।

एमरेल्ड एकाडेमी, भद्रपुरले आयोजना गरेको सम्मान कार्यक्रममा उनले ३२ वर्षअघि सुरु गरेको प्रविधिमार्फत नेपाललाई समृद्ध बनाउने यात्राको अनुभव सुनाए।

ताररहित इन्टरनेटदेखि कृषकका लागि औजार कारखाना स्थापना सम्मका आफ्ना योजनाबारे बोल्दै उनले “ज्ञान जहाँ सिके पनि, प्रयोग आफ्नै माटोमा गर्नुपर्छ” भन्ने धारणा व्यक्त गरे। अमेरिकामा पढाइपछि करोडौं कमाउने जागिर त्यागेर नेपाल फर्किएको उल्लेख गर्दै उनले हाल आफ्नो जीवनीको पुस्तक बेचेर औजार कारखाना सञ्चालनका लागि गाउँगाउँ डुलिरहेको बताए।

उनका अनुसार, विगतमा जस्तै अहिले पनि नयाँ योजनामा धेरैले शंका गरे पनि आफू लक्ष्यप्रति इमान राखी अगाडि बढ्ने अठोटमा छन्। उनले विद्यार्थीहरूलाई पनि देशको विकासका लागि केही गर्ने संकल्प लिन आग्रह गरे।

कार्यक्रम विद्यालयका संस्थापक प्रा. डा. पृथ्वीविक्रम राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा भद्रपुर नगरपालिकाका पूर्व प्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर गोल्डकप अध्यक्ष दिपेश ढकाल, संस्थापक तिलक प्याकुरेल, ध्रुव भण्डारी लगायतको उपस्थिति थियो। विद्यालयका प्रिन्सिपल दिगम्बरराज अधिकारीले कार्यक्रमको सहजीकरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार