नेत्रविक्रम बिमली /झापा । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्रले पार्टीको भावी नेतृत्व चयनका लागि ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ। पार्टीले संघीयता, समावेशिता र आन्तरिक सन्तुलनलाई प्राथमिकतामा राख्दै केन्द्रीय कमिटीको विस्तृत ढाँचा अनुमोदन गरेको हो।

नयाँ संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ जना पदाधिकारी रहनेछन्। यसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ सचिव रहने व्यवस्था गरिएको छ। पदाधिकारी तहमा महिला र युवा सहभागिता विस्तार गर्ने उद्देश्य देखिन्छ।

प्रदेशगत प्रतिनिधित्वतर्फ उपत्यकासहित सबै आठ प्रदेशबाट समान संख्यामा प्रतिनिधि रहनेछन्। प्रत्येक प्रदेशबाट नौ–नौ जना गरी कुल ७२ जना केन्द्रीय कमिटीमा रहनेछन्। यसअन्तर्गत खुल्ला पाँच, महिला तीन र युवा एक जनाको व्यवस्था गरिएको छ।

सबैभन्दा ठूलो हिस्सा खुल्ला कोटाको छ। खुल्ला कोटाबाट १२५ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित हुनेछन्। यसमा खुल्ला ७१, महिला ५२ र युवा दुई जना समेटिएका छन्।

समुदायगत समावेशीतर्फ जनजाति/आदिवासी समूहबाट २५ जना रहनेछन्। यसमा खुल्ला १५, महिला आठ र युवा दुई जना छन्। मधेसी समुदायबाट २० जना प्रतिनिधि रहनेछन्, जसमा खुल्ला ११, महिला छ र युवा दुई जना छन्।

यस्तै, प्रवासतर्फ दुई जनाको प्रतिनिधित्व रहनेछ—भारतबाट एक र अन्य देशबाट एक जना। श्रमिक क्षेत्रबाट तीन जना (खुल्ला दुई र महिला एक) समेटिनेछन्।

अपाङ्गता भएका व्यक्तिका लागि एक जनाको सुनिश्चित प्रतिनिधित्व गरिएको छ। दलित समुदायबाट १२ जना (खुल्ला सात, महिला चार र युवा एक) रहने व्यवस्था छ। थारु समुदायबाट आठ जना (खुल्ला पाँच र महिला तीन) तथा मुस्लिम समुदायबाट पाँच जना (खुल्ला चार र महिला एक) केन्द्रीय कमिटीमा रहनेछन्।

पछाडिएको क्षेत्रबाट दुई जना प्रतिनिधि रहनेछन्, जसमा खुल्ला र महिला एक–एक जना छन्।

पार्टी नेतृत्वका अनुसार यो संरचनाले एमालेभित्र क्षेत्रीय सन्तुलन, लैङ्गिक समावेशिता र सामाजिक प्रतिनिधित्वलाई संस्थागत गर्ने लक्ष्य राखेको छ। बन्दसत्रमा सहभागी नेताहरूले यस्तो संरचनाले पार्टीको निर्णय प्रक्रियालाई अझ व्यापक र प्रतिनिधिमूलक बनाउने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार