कविता: अधुरो सम्झना / ✍️देवेन्द्र के ढुङगाना
कहिलेकाहीँ
“म ठीक छु” भन्ने शब्दहरू
सबैभन्दा ठूलो
झूट हुन्छन्…
र त्यो झूट भित्र
असह्य पीडाको सागर –
लुकेको हुन्छ।
एक दिन म फेरि एक्लै थिएँ…
भीडको बीचमा पनिपूर्ण रूपमा खाली थिए ।
जिन्दगी फेरि
त्यही मोडमा उभिएको थियो—
जहाँ तिमी थियौ…
तर अब छैनौ।
म चुप थिएँ।
पहिलेजस्तै…
तर यसपालि
मेरो चुप्पी
तिम्रो अभावले भरिएको थियो।
तिमी सम्झनामा आएर सोध्ये
जस्तो लाग्यो—
“अझै पनि यति धेरै सोच्ने गर्छौ?”
म हल्का मुस्कुराएँ…
तर त्यो मुस्कान
टुटेको मनको आदत मात्र थियो।
मैले मनमनै भनेँ—
“अब सोच्ने तिमीलाई होइन…
तिमी बिना बाँच्न कसरी भनेर हो…”
त्यो बेला तिमीले मेरो हात
समातेकी थियौ…
आज ती हातहरू खाली छन्।
तिमीले भनेकी थियौ—
“दुःखले मान्छेलाई सानो बनाउँदैन,
बलियो बनाउँछ।”
तर किन हो…
तिमी बिना
म अझै कमजोर महसुस गर्छु।
समय बित्यो…
दिनहरू फेरिए…
मानिसहरू
आए, गए…
तर तिम्रो ठाउँ
कसैले लिन सकेन।
म अघि बढ्ने प्रयास गर्छु…
तर हरेक कदममा
तिम्रो –
सम्झनाले रोक्छ।
थाकेको छु…
तर अझै
ढलेको छैन।
किनकि तिमीले सिकाएकी थियौ—
“थाक्नु हार होइन…
हार मान्नु नै
हार हो।”
आज मानिसहरू भन्छन्—
“तिमी बदलियौ, बलियो भयौ।”
तर उनीहरूलाई
के थाहा—
यो बलियोपन
तिमीलाई गुमाएर सिकेको हो।
साँचो भन्नुपर्दा…
यदि तिमी
अझै साथमा भएको भए,
सायद म यति मजबुत –
बन्ने थिएनँ…
तर यति खाली पनि हुने थिइनँ।
किनकि केही सम्बन्धहरू
सधैंका लागि रहँदैनन्…
तर जीवनभरका लागि-
घाउ छोडेर जान्छन्।
र केही मायाहरू…
पाउनेका लागि होइन…
हराएर पनि
बाँच्न सिकाउनका लागि आउँछन्।
















