✍️ देवेन्द्र किशोर ढुङ्गाना

मेरो देश अझै रोइरहेको छ—
धुवाँले ढाकिएको आकाशमुनि
रगतले लेखिएको इतिहास बोकेर,
जहाँ सत्य बोल्ने ओठहरू
डरको सिँजाइँले सुकाइएका छन्।

स्वार्थका सिँढी चढेर
शक्ति खोज्ने हातहरूले
जनताको भविष्यलाई किनबेच गरिरहेका छन्,
र माटो—
त्यो निर्दोष माटो—
अहिले पनि
मौन छ,
तर त्यो मौनता भित्र
आँधी
लुकेको छ।

देश जलाउनेहरू
देशकै ठेकेदार बनेर
राष्ट्रियता नापिरहेका छन्
विदेशी आँखाको नापमा,
आफ्नै पहिचानलाई
दाऊमा राखेर
अर्काको तालमा नाचिरहेका छन्।

हामीले देख्यौँ—
हिजोको उज्यालो सपना बोकेका विद्यार्थीहरू
आज अधिकार खोज्दा
उनिहरुका
आवाज बन्द गरिएका छन्,
उनका किताबहरू भन्दा भारी
बन्धनको जञ्जीर भएको छ।

संगठनहरूमा ताला लगाएर
विचारलाई कैद गरियो,
र भनियो— “शान्ति”
तर त्यो शान्ति कब्रिस्तानको जस्तो थियो,
जहाँ आवाज छैन,
तर अन्याय चिच्याइरहेको छ।

सीमामा अघोषित बन्द—
भोकलाई नाकाबन्दी,
आशालाई घेराबन्दी,
र जनताको पेटमा
राजनीतिक खेल खेलियो।

भोक—
त्यो त केवल शारीरिक होइन,
न्यायको भोक,
सम्मानको भोक,
स्वतन्त्रताको भोक पनि हो,
जसलाई बलत्कार गरिँदैछ
दिन प्रतिदिन,
नीतिका नाममा,
शक्तिका नाममा।

तर सुन्नु—
यो अन्त्य होइन।

यो माटो,
जसले वीर जन्मायो,
त्यो अझै बाँझो भएको छैन।
यहाँको हरेक कणमा
प्रतिरोधको बीउ छ,
जसले एक दिन
क्रान्तिको जंगल बनाउनेछ।

जब किसानको पसिना
क्रोधमा परिणत हुन्छ,
जब विद्यार्थीको कलम
विद्रोह लेख्न थाल्छ,
जब आमाको आँसु
शपथ बन्छ—
त्यो दिन
यो मौनता फुट्नेछ।

हामी उठ्नेछौँ—
हातमा हतियार नभए पनि
सत्य बोकेर,
आवाजमा गोली नभए पनि
अडान बोकेर।

हामी सोध्नेछौँ—
देश कसको हो?
माटो कसको हो?
राष्ट्रियता किन बिक्रीमा छ?
र किन हाम्रो भविष्य
कुनै सम्झौतामा लेखिएको छ?

त्यो दिन
सत्ता डराउनेछ,
किनकि जनता जाग्नेछ।

हामी लेख्नेछौँ
नयाँ इतिहास—
जहाँ विद्यार्थीहरू
डरले होइन,
सपना बोकेर हिँड्नेछन्;
जहाँ संगठनहरू
अपराध होइन,
अधिकार हुनेछन्;
जहाँ सीमा
भोकको कारण होइन,
गौरवको प्रतीक हुनेछ।

माटो बोल्नेछ—
“अब पुग्यो।”

र जब माटो बोल्छ,
त्यो आवाज
पहाडले रोक्दैन,
सीमाले छेक्दैन,
सत्ताले दबाउँदैन।

यो कविता होइन मात्र—
यो चेतावनी हो,
यो आह्वान हो,
यो प्रतिज्ञा हो।

हामी चुप बस्ने छैनौँ अब,
किनकि
मौनता पनि कहिल्यै
अनन्त हुँदैन।

मेरो देश—
तिमी अझै हारिसकेको छैनौ,
तिमी केवल
उठ्ने तयारीमा छौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार