✍देवेन्द्र किशोर ढुङ्गाना/भद्रपुर, झापा

न त हिन्दू न त मुस्लिम खतरामा छन्,
न त मन्दिर, न त मस्जिद मात्र लक्ष्य बनेका छन्—
अब खतरा त्यो हो,
जहाँ मानिसले मानिस देख्न छोडेको छ।

अब खतरा त्यो हो,
जहाँ नाम हेरेर
न्याय तौलिन्छ,
जहाँ धर्मको खोल ओढेर
मानवतामाथि
गोली दागिइन्छ।

यो कुन युगमा उभिएका छौँ हामी?
जहाँ संविधान हातमा छ,
तर करुणा मुटुमा छैन।
जहाँ स्वतन्त्रताको नारा घन्किन्छ,
तर स्वतन्त्र सोचलाई
भीडले पत्थर हान्छन ।

न त हिन्दू, न त मुस्लिम खतरामा छन्—
खतरामा छ हाम्रो चेतना,
खतरामा छ
हाम्रो सहिष्णुता,
खतरामा छ
हाम्रो साझा आकाश।

जब कुनै निर्दोषको
रगत बग्छ,
त्यो रगतले धर्म सोध्दैन,
त्यो रगतले भाषा सोध्दैन,
त्यो केवल चिच्याउँछ—
“म मानिस हुँ!”

तर हामी?
हामीले कान थुनेका छौँ,
आँखा बन्द गरेका छौँ,
र आफ्नो–आफ्नो शिविरमा उभिएर
घोषणा गरिरहेका छौँ—
“हाम्रो पक्ष सही छ।”

के यही लोकतन्त्र हो?
जहाँ बहुमतको नाममा
अल्पमतको
घाँटी थिचिन्छ?
जहाँ प्रश्न सोध्नेहरू
देशद्रोही ठहरिन्छन्?
जहाँ सत्ताको
आलोचना गर्नु
अपराध ठानिन्छ?

लोकतन्त्र त त्यो हो,
जहाँ असहमतिको स्वर
राष्ट्रको शक्ति बन्छ।
जहाँ फरक मत
फूलझैँ फुल्न पाउँछ।
जहाँ राज्यको कर्तव्य
सबै नागरिकको
सुरक्षा गर्नु हो—
केवल आफ्ना समर्थकहरूको होइन।

आज आक्रमण फगत
कुनै एक धर्ममाथि होइन,
यो आक्रमण हो
मानवतामाथि
यो प्रहार हो
साझा अस्तित्वमाथि।

जब भीड उन्मत्त बन्छ,
त्यो भीडको
कुनै धर्म हुँदैन
त्यो केवल हिंसाको
रंगमा रङ्गिन्छ।
त्यो केवल घृणाको भाषामा मात्र बोल्छ।

देशभक्ति के हो?
के अरूलाई घृणा गर्नु देशभक्ति हो?
के फरक आस्था राख्नेहरूलाई
सन्देहको आँखाले
हेर्नु नै राष्ट्रप्रेम हो?

देश त केवल
भूगोल होइन—
देश त ती मानिसहरू हुन्
जो फरक–फरक पहिचान बोकेर
एउटै आकाशमुनि
सास फेर्छन्।

यदि त्यो आकाश नै
धुवाँले ढाकियो भने,
यदि त्यो सास नै
डरले थुनियो भने,
कस्तो देश बाँकी रहन्छ?

न त हिन्दू न त मुस्लिम खतरामा छन्—
खतरामा छ
हाम्रो भविष्य।
खतरामा छ
त्यो पुस्ता
जसले हामीबाट
घृणा होइन,
मानवता सिक्नुपर्ने थियो।

हामीले इतिहास पढ्यौँ—
विभाजनले के पायौ?
रक्तपातले के उब्जायो?
घृणाले के निर्माण गर्‍यो?

तर हामी फेरि
उही गल्ती दोहोर्‍याउन क तयारमा छौँ?

क्रान्ति चाहिन्छ—
तर त्यो क्रान्ति
बन्दुकको होइन,
चेतनाको हो हुनु पर्छ
क्रान्ति चाहिन्छ—
तर त्यो आगोको होइन,
अन्तरात्माको हुनु पर्छ ।

हामी उठ्नुपर्छ,
तर कसैलाई
लखेट्न होइन—
हामी उठ्नुपर्छ
मानवतामाथिको यो निर्लज्ज आक्रमणको
खुलेर विरोध गर्न।

हामीले भन्नुपर्छ—
“हिंसा हाम्रो संस्कृति होइन।”
“घृणा हाम्रो परम्परा होइन।”
“विभाजन हाम्रो नियति होइन।”

हामी बुद्धको देशका सन्तान हौँ,
जहाँ करुणा
क्रान्ति हुनु पर्छ ।
हामी वीरहरूको
देशका सन्तान हौँ,
जहाँ साहस भनेको
निर्दोषको पक्षमा
उभिनु पर्छ ।

यदि कसैले मानवतामाथि प्रहार गर्छ भने,
हामी चुप बस्ने छैनौँ।
यदि कसैले धर्मको नाममा
राजनीति गर्छ भने,
हामी प्रतिकार गर्नेछौँ।
किनकि मौनता पनि
कहिलेकाहीँ
अपराध हुन्छ।

अब सबै खतरामा छन्—
जब न्याय चुप लाग्छ,
जब सत्य डराउँछ,
जब संविधान किताबमै सीमित हुन्छ।

हामीले त्यो डर तोड्नुपर्छ।
हामीले त्यो मौनता चिर्नुपर्छ।
हामीले त्यो विभाजन मेट्नुपर्छ।

हाम्रो आवाज
ढुंगाभन्दा बलियो हुनुपर्छ,
हाम्रो विचार
गोलीभन्दा तीक्ष्ण हुनुपर्छ,
हाम्रो एकता
षड्यन्त्रलाई चिर्न
इस्पात हुनुपर्छ।

देशभक्ति भनेको
झण्डा हल्लाउनु
मात्र होइन—
देशभक्ति भनेको
हरेक नागरिकको
आँसु पुछ्नु हो।

क्रान्ति भनेको
सत्ता पल्टाउनु मात्र होइन
क्रान्ति भनेको
अन्यायको नियति
बदल्नु हो।

मानवतावाद भनेको
नारा मात्र होइन—
यो त अभ्यास हो,
हरेक दिन,
हरेक व्यवहारमा
देखिनू हो ।

आउनुहोस्,
हामी धर्मको नाममा होइन,
मानवताका नाममा
एक हौँ।
हामी घृणाको विरुद्ध,
करुणाको पक्षमा उभिऔँ।

न त हिन्दू न त मुस्लिम खतरामा छन्—
यदि हामी
सचेत छौनौ भने
यदि हामीले मानवतालाई
सबैभन्दा माथि
राखेनौ भने।
यदि हामी
चुप लाग्यौँ भने,
यदि हामीले विभाजनलाई
स्वीकार गर्‍यौँ भने—
त्यस दिन पक्कै
सबै खतरामा पर्नेछन्।

त्यसैले उठ,
हे युवा चेतनाहरु !
उठ, हे साझा सपनाका सिपाहीहरू!
तिमीहरूको आवाजले
यो देश फेरि बनोस्—
जहाँ लोकतन्त्र
कागजमा होइन,
हृदयमा बाँचोस्।

जहाँ धर्म
मानवताको सेतु बनोस्,
हथियार होइन।
जहाँ राजनीति
सेवा बनोस्,
सत्ता होइन।

न त हिन्दू न त मुस्लिम खतरामा छन्—
खतरामा छ यदि केही,
त्यो हाम्रो मौनता हो।

आउनुहोस्,
यो मौनता तोडौँ।
मानवताका पक्षमा
इतिहास फेरि रचौ।

किनकि अन्ततः—
देश बाँच्ने हो भने,
पहिला मानवता बच्नुपर्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार