प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका अधिकांश मन्त्री बदनाम देखिएका छन् । सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा धेरै मन्त्री व्यवहार शैली र अनियमितताका कारण बदनाम हुन पुगेका हुन् । केही मन्त्री भने गुमनाम छन् । अर्थमन्त्री जनार्दन शर्मा सुरुमै अमेरिकाबाट आएको व्यापारी पृथ्वी शाहको शंकास्पद र अवैध ४० करोड छुटाउन राष्ट्र बैंकलाई आदेश दिएपछि विवादमा परेका थिए ।
यसैगरी, बजेट बनाउँदासमेत शर्माले अन्तिम समय आएर पूर्वसुब्बामार्फत विभिन्न स्वार्थ समूहको दबाबमा करको दर घटाउने, बढाउने काम गरी विवादमा आएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई दुव्र्यवहार गरेपछि बदनाम सुरु भएका थिए । केही दिनअघि मात्रै उनले नेपाल वायुसेवा निगमका तत्कालीन अध्यक्ष युवराज अधिकारीलाई दुव्र्यवहार गरेका थिए । उनले अधिकारीलाई मन्त्रालयमै बोलाएर आपूmले लगाएको काम ‘नगरेको’ भन्दै दुव्र्यवहार गरेका थिए । उनीमाथि केही क्यासिनोसँग असुली धन्दा सञ्चालन गरेको आरोपसमेत छ ।
त्यस्तै, सहरी विकासमन्त्री रामकुमारी झाँक्रीमाथि पनि मन्त्रालयका विवादस्पद छविका सचिव डा रमेश सिहसँग मिलेर कर्मचारी सरुवा तथा विभिन्न परियोजनामा मिलिमतो गरी रकम असुली गर्न थालेको आरोप लागेको छ । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु अनियन्त्रित रूपमा पेट्रोलियम पदार्थको मूल्य बढाएर जनविरोधी काम गरेको भन्दै बदनाम हुन पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठमाथि पनि कर्मचारी सरुवामा लेनदेन गरेको आरोप लागेको छ । अर्का कृषिमन्त्री महिन्द्र राय यादवले खेतीपाती समयमा किसानलाई मल उपलब्ध गराउन नसकेपछि बदनाम छन् ।
















