हल्दिबारी (झापा) । नेपाल-भारत सीमावर्ती पूर्वी नाका काँकडभिट्टाबाट भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ।

झापाको भद्रपुर भन्सार कार्यालयबाट कपडाको वैधानिक आयात घटिरहेका बेला सीमा क्षेत्रबाट अवैध रूपमा सामान भित्रिन थालेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका अनुसार बुधबार बिहान करिब २ बजे मेचीनगर नगरपालिका–८ स्थित सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याइएको २४ बोरा लत्ताकपडा फेला परेको हो।
बरामद गरिएको कपडाको अनुमानित बजार मूल्य सात लाख ३१ हजार रुपैयाँभन्दा बढी रहेको र त्यसलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकिएको अधिकारीहरूले जनाएका छन्।
स्थानीय भन्सार कर्मचारी तथा कारोबारी स्रोतहरूका अनुसार पछिल्लो समय भद्रपुर नाकाबाट कपडाको औपचारिक आयातमा भारी गिरावट आएको छ, जसका कारण राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ।
बिर्तामोडका केही व्यापारीहरूले भन्सार महसुल छल्न सीमा क्षेत्रमा सक्रिय विचौलिया वा ‘लाइनमेन’को प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ।
भन्सारमार्फत ल्याउँदा एउटा पोकाको १५ हजारदेखि ५० हजार रुपैयाँसम्म राजस्व बुझाउनुपर्नेमा, गैरकानुनी बाटो प्रयोग गर्दा ७ देखि ८ हजार रुपैयाँमै सामान गन्तव्यसम्म पुग्ने गरेको स्रोतको दाबी छ।
यसअघि सीमा क्षेत्रमा अवैध पैठारी नियन्त्रण गर्न नसकेको भन्दै सशस्त्र प्रहरीका केही कर्मचारी विभागीय कारबाहीमा परेका थिए। त्यसयता सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले जाँच र गस्तीमा कडाइ गरेका हुन्।
सशस्त्र प्रहरी बल झापाका उपरीक्षक (डीएसपी) सुमन पौडेलले सीमाबाट हुने चोरी-निकासी नियन्त्रणका लागि सुरक्षा निगरानी निरन्तर जारी रहने र गैरकानुनी गतिविधिमाथि शून्य सहनशीलताको नीति अपनाइने बताएका छन्।
