हल्दीबारी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नं. ३ बाट पाँच जना नेताको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ। सिफारिस सूचीमा जनवादी नेता स्वर्गीय द्रोणाचार्य क्षेत्रीका छोरा देवेन्द्र आचार्यको नाम परेपछि स्थानीय राजनीति र कार्यकर्ता पंक्तिमा विशेष चासो र उत्साह देखिएको छ।
आज सम्पन्न नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, झापा क्षेत्र नं. ३ को बैठकले प्रत्यक्षतर्फका सम्भावित उम्मेदवारका रूपमा देवेन्द्र आचार्यसहित बसन्त बानियाँ, सन्तलाल मेचे, हरिबहादुर राजवंशी र क्षेत्र नं. ५ का एमाले नेता दीपक कार्कीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो। उक्त जानकारी एमाले स्रोतले हल्दीबारी डटकमलाई दिएको छ।
झापा क्षेत्र नं. ३ ऐतिहासिक रूपमा एमालेको बलियो आधार क्षेत्र मानिँदै आए पनि पछिल्ला निर्वाचनमा पार्टीले अपेक्षित नतिजा ल्याउन सकेको छैन। यस्तो अवस्थामा कम्युनिस्ट आन्दोलनका झापाली योद्धा तथा जनवादी नेता स्वर्गीय द्रोणाचार्य क्षेत्रीका छोरा देवेन्द्र आचार्यको नाम सिफारिस हुनु पार्टीभित्र नयाँ राजनीतिक सन्देश र ऊर्जा थपिएको विश्लेषण गरिएको छ।
झापाको राजनीतिक इतिहासमा नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकी र कम्युनिस्ट आन्दोलनका अगुवा द्रोणाचार्य क्षेत्री दुई सधैं स्मरण गरिने नाम हुन्। यद्यपि दुवै नेताको स्वर्गारोहण भइसकेको छ, उनीहरूले छोडेको राजनीतिक विरासत अझै पनि झापाली राजनीतिक वृत्तमा जीवित छ।
त्यही विरासतलाई अघि बढाउने आशाका साथ स्वर्गीय द्रोणाचार्य क्षेत्रीका छोरा देवेन्द्र आचार्यलाई झापा क्षेत्र नं. ३ बाट संघीय संसदको उम्मेदवारका रूपमा पहिलोपटक सिफारिस गरिएको हो। यस सिफारिसलाई आगामी निर्वाचनमा एमालेको रणनीतिक कदमका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
1
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार