झापा ,७ श्रावण । झापाको अर्जुनधारास्थित देवभूमि विद्यालयका संस्थापक तथा स्थानीय सामाजिक र शैक्षिक क्षेत्रका परिचित व्यक्तित्व सुमन शर्मा जमरकट्टेलको ५० वर्षको उमेरमा निधन भएको छ।

बिहीबार बिहान करिब ८ बजे विद्यालय परिसरमै अचानक छातीमा समस्या देखिएपछि उहाँ बेहोस हुनुभएको परिवारजनले जनाएका छन्। तत्काल उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उहाँको मृत्यु भएको हो।

लामो समयदेखि झापाको शैक्षिक विकासमा सक्रिय जमरकट्टेल नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो भने पछिल्लो समय सल्लाहकारका रूपमा कार्यरत हुनुहुन्थ्यो।
शिक्षा क्षेत्रका अलावा उहाँ रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका पूर्व अध्यक्ष तथा श्री श्री ठाकुर अनुकूलचन्द्र धर्म संघका जिम्मेवार पदाधिकारीका रूपमा समेत सामाजिक र धार्मिक अभियानहरूमा सक्रिय रहँदै आउनुभएको थियो।
उहाँको असामयिक निधनप्रति झापाका विभिन्न सामाजिक, धार्मिक तथा शैक्षिक संघ-संस्थाका प्रतिनिधिहरूले गहिरो शोक व्यक्त गरेका छन्। स्वर्गीय जमरकट्टेलका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ।
