काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपाली चलचित्रहरूले देशको ‘मुड’ बोल्नुपर्ने बताएका छन्।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको नवौँ संस्करणको चौथो दिन ‘नेपाल थ्रु भिज्युल्स’ शीर्षकको सत्रमा बोल्दै उनले नेपाल प्रवर्द्धनका लागि केवल सुन्दर दृश्यहरू मात्र पर्याप्त नहुने उल्लेख गरे। उनका अनुसार कथामार्फत देशको भाव र अवस्था प्रस्तुत हुनुपर्छ।
“हामीले प्रस्तुत गर्ने दृश्यले देशको ‘मुड’ बोल्नुपर्छ,” उनले भने, “त्यो मुड कहिले शान्त, कहिले रहस्यमय, कहिले संघर्षपूर्ण पनि हुन सक्छ।”
उनले दृश्यसँगै कथा र भावनात्मक दृष्टिकोण जोडिनुपर्नेमा पनि जोड दिए। “आजको डिजिटल युगमा दुई मिनेट वा त्यसभन्दा छोटा भिडियोमै एउटा देशको सम्पूर्ण कथा भन्न सकिने चुनौती र अवसर दुवै छन्,” उनले भने, “हामीले सिनेम्याटिक लेन्सबाट नेपाललाई देखाउनुपर्छ, किनकि प्रत्येक लेन्सले फरक कथा बोकेको हुन्छ।”
नेपाललाई ‘डिभाइन ल्यान्ड’ का रूपमा व्याख्या गर्दै उनले भने, “यो संसारकै एक मात्र देश हो जहाँ तराईको समथर भूभागदेखि विश्वकै अग्ला हिमालसम्मको विविधता एकै फ्रेममा अटाएको छ। तर यी दृश्यहरू केवल सौन्दर्य प्रदर्शनमै सीमित हुनु हुँदैन।”
उनका अनुसार पर्यटन प्रवर्द्धनको मूल आधार ‘कथा’ नै हो। “दृश्यहरू कथासँग जोडिएनन् भने तिनको अर्थ हुँदैन,” उनले भने।
नेपाली सिनेमाका सन्दर्भ उल्लेख गर्दै उनले थपे, “अन्धकारबिना सिनेमा सम्भव छ? पक्कै पनि छैन। त्यसैले अब हामीले नेपालको उज्यालोसँगै अँध्यारो पक्षका कथाहरू पनि भन्नुपर्छ।”
उनले नेपाली चलचित्रहरूले पर्यटन प्रवर्द्धनमा अब केवल हिमाल, मन्दिर र प्राकृतिक सौन्दर्य मात्र होइन, चुनौती, संघर्ष र यथार्थका कथाहरू पनि समेट्नुपर्ने आवश्यकता औंल्याए।
साथै, उनले नेपालका सिनेमा र पर्यटन प्रवर्द्धनमा कृत्रिम बुद्धिमत्ताबाट सिर्जित तस्बिर तथा दृश्यहरू पूर्ण रूपमा रोक्नुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार ‘भिजुअल फिलोसफी’ अर्थात् दृश्यको दर्शन नै अबको मुख्य मार्गदर्शक हुनुपर्छ।
नेपाललाई ‘पोस्टकार्ड डेस्टिनेशन’ बाट ‘स्टोरीटेलिङ डेस्टिनेशन’ मा रूपान्तरण गर्न चलचित्रले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए। छोटा भिडियोमार्फत गहिरो अनुभूति दिन सक्ने क्षमता अहिलेको प्रतिस्पर्धी पर्यटन बजारमा निर्णायक बन्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार