नरेन्द्र क्षेत्री/ कलकत्ता ।भारतको पश्चिम बंगालमा जारी विधानसभा निर्वाचन २०२६ अन्तर्गत दोस्रो चरणको मतदान अत्यन्त उत्साहजनक र ऐतिहासिक सहभागिताका साथ सम्पन्न भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्याङ्क अनुसार १४२ निर्वाचन क्षेत्रमा भएको यस मतदानमा कुल ९१.७६ प्रतिशत मत खसेको छ जुन लोकतान्त्रिक अभ्यासका दृष्टिले निकै उच्च सहभागिता हो। यस चरणमा कुल ३ करोड २१ लाख दर्ता भएका मतदातामध्ये १ करोड ६४ लाख पुरुष र १ करोड ५७ लाख महिला रहेका थिए भने ७९२ तेस्रो लिङ्गी मतदाताले समेत आफ्नो मताधिकार प्रयोग गरेका छन्। निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन आयोगले ४१ हजार १ वटा मतदान केन्द्रहरूमा वेबकास्टिङको विशेष व्यवस्था मिलाएको थियो।
​विशेषगरी भवानीपुर जस्तो राजनीतिक रूपमा संवेदनशील क्षेत्रमा मुख्यमन्त्री ममता बनर्जी र भाजपाका प्रभावशाली नेता शुभेन्दु अधिकारी एउटै मतदान केन्द्रमा पुग्दा राजनीतिक सरगर्मी बढे पनि मतदान प्रक्रियामा कुनै ठूलो अवरोध देखिएन। मुख्यमंत्री बनर्जीले केन्द्रीय सुरक्षा बल र निर्वाचन पर्यवेक्षकहरूमाथि सत्तापक्षको पक्षपोषण गरेको आरोप लगाए पनि निर्वाचन अधिकारीहरूले भने मतदान शान्तिपूर्ण रहेको दाबी गरेका छन्। निर्वाचन प्रक्रिया सम्पन्न भए तापनि विगतका घटनाहरूलाई मध्यनजर गर्दै मतदानपछिको सम्भावित हिंसा रोक्न निर्वाचन आयोग र गृह मन्त्रालयले थप सतर्कता अपनाएका छन्। मुख्य निर्वाचन अधिकारी मनोज अग्रवालका अनुसार शान्ति सुरक्षा कायम राख्नका लागि अर्धसैनिक बलका विभिन्न बटालियन र कम्पनीहरूलाई निर्वाचन पछिको केही समयसम्म पनि सोही क्षेत्रमा तैनाथ राखिने निर्णय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार