बिर्तामोड । धरानको फेयर फुटबल क्लब बिर्तामोडमा जारी ‘एनी चौथो बुट्टाबारी गोल्ड कप’ नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा कचनकवलको बगान युथ क्लबलाई ३–२ को प्रतिस्पर्धात्मक गोल अन्तरले पाखा लगाउँदै फेयरले अन्तिम चारको यात्रा तय गरेको हो।
अत्यन्तै रोमाञ्चक बनेको खेलमा सुरुवाती अग्रता भने बगान युथ क्लबले लिएको थियो। खेलको २१औं मिनेटमा आशिष चापागाईंले गोल गर्दै बगानलाई अग्रता दिलाए पनि त्यो धेरै समय टिक्न सकेन। त्यसको चार मिनेटपछि नै फेयरका कृष्ण राईले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए। दोस्रो हाफमा पुनः बगानले दबाब बढायो र ६२औं मिनेटमा सेवन थापा मगरको गोलमार्फत २–१ को अग्रता बनायो। तर, फेयरका मञ्जिल खड्काले ६७औं मिनेटमा गोल गर्दै खेललाई फेरि बराबरीको स्थितिमा पुर्याए।
खेलको ७८औं मिनेटमा सौरे राउतले गरेको गोल नै फेयरका लागि निर्णायक सावित भयो। निर्धारित समयसम्म बगानले थप गोल फर्काउन नसकेपछि फेयर ३–२ को नतिजा निकाल्दै अघिल्लो चरणमा पुग्न सफल भयो। खेलको ‘म्यान अफ द म्याच’ फेयरका कृष्ण राई घोषित भए। उनले नगद ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।
अब फेयरले वैशाख १० गते हुने दोस्रो सेमिफाइनलमा मोरङको बेलबारी एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै, प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनलमा आयोजक बुट्टाबारी युनाइटेड र उदयपुरको ब्रदरहुड एफसीबीच भिडन्त हुने आयोजकले जनाएको छ।
बुट्टाबारी युनाइटेडको आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनल खेल वैशाख १२ गते हुनेछ। प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। खेलकुद सामग्रीको ब्रान्ड ‘एनी’ मुख्य प्रायोजक रहेको यस प्रतियोगितालाई बिर्तामोड नगरपालिका र कनकाई अस्पतालले समेत सहयोग गरेका छन्।


















