हल्दिबारी: हिन्दुहरूको महान् चाड बडादशैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिनसम्म धूमधामका साथ मनाइने यो पर्वको पहिलो दिन आज घटस्थापना गरिएको छ।
आज बिहानै वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरेर घटस्थापना गरिएको हो। यसैगरी, देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिएको छ। पूजा कोठा वा दशैं घरमा जौ छरेर जमरा राख्ने काम पनि आजै गरिएको छ। दुर्गा देवीलाई प्रिय मानिने यव (जौ) को जमरा विजयादशमीका दिन टीकासँगै प्रसादको रूपमा लगाइन्छ।
घटस्थापनाको साइत र नवरात्र
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ०९:१३ बजे घटस्थापनाको शुभ साइत रहेको थियो। आज घट स्थापना गरी सोही घडामाथि देवी दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भनिएको हो।
यस वर्षको दशैँ नौ रात र दस दिनको नभई १० रात र ११ दिनको हुन पुगेको छ। यस अवधिमा देवी दुर्गाका तीन रूप— महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिनेछ। नवरात्रको नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, र सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्ने परम्परा छ।
असत्यमाथि सत्यको विजयको पर्व
बडादशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा लिइन्छ। दुर्गा देवीले चण्ड, मुण्ड, शुम्भ, निशुम्भजस्ता राक्षसहरूको वध गरेर मानव जातिको रक्षा गरेको धार्मिक विश्वास छ। यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवतीजस्ता देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो लाग्ने गर्छ। रोजगारी वा अध्ययनका लागि घरबाहिर रहेका मानिसहरू पनि परिवारसँग चाड मनाउन घर फर्कने गर्छन्। यसैले बडादशैँलाई पारिवारिक पुनर्मिलन को पर्वका रूपमा पनि चिनिन्छ।
हनुमानढोकामा विशेष पूजा
काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैं घरमा पनि आजैदेखि वैदिक विधिअनुसार जमरा राखी पूजा आराधना सुरु भएको छ। यहाँ महानवमीको दिन ५४ बोका र ५४ राँगाको बलि दिइन्छ।
टीकाको साइत
समितिका अनुसार यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको छ। यसै दिन बिहान ०९:२३ बजे देवी विसर्जनको साइत रहेको छ।

















