बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं. ३ फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको सेमिफाइनलमा वडा नं. ३ ले वडा नं. ५ लाई सडन डेथमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । निर्धारित ७० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकर हुँदै सडन डेथसम्म पुगेको थियो ।
सडन डेथमा वडा नं. ३ का प्रयास बुढाथोकीले निर्णायक गोल गरे । वडा नं. ५ का रमेश श्रेष्ठको प्रहारलाई गोलकिपर अभिषेक बरालले रोकेपछि वडा नं. ३ ले जित पक्का गर्‍यो । टाइब्रेकरमा वडा नं. ५ का अङ्कुर खड्गी, मोहन गुरुङ, राजकुमार बिक र सुजन बिकले गोल गरे भने बिक्की चौधरीको प्रहार बाहिरियो । वडा नं. ३ का आशिष चापागाईं, सुमेरु थापा, विशाल धिमाल र सन्तोष राईले गोल गरे । कप्तान विशाल मर्डीको प्रहार भने क्रसबारमा लागेर फर्किएको थियो ।
जितसँगै वडा नं. ३ ले कम्तीमा ५० हजार रुपैयाँ पुरस्कार सुनिश्चित गरेको छ । खेलको ‘प्लेयर अफ द म्याच’ वडा नं. ३ का गोलकिपर अभिषेक बराल घोषित भए । उनले १ हजार ५०० रुपैयाँ नगद पुरस्कार पाए । आइतबार हुने फाइनलमा वडा नं. ३ ले वडा नं. १० को सामना गर्नेछ ।
प्रतियोगितामा एक जना उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ नगद प्रदान गरिने छ । साथै उत्कृष्ट कोच, उत्कृष्ट फरवार्ड, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट मिडफिल्डलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव बिसन लिम्बुले जानकारी दिए ।
यसैगरी दोस्रो वडा स्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगितामा बिर्तामोड–५ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा वडा नं. ५ ले वडा नं. ३ लाई ३–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
वडा नं. ५ को जितमा अङ्कुर खड्गीले ह्याट्रिक पूरा गरे । उनले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरे । वडा नं. ३ का लागि डेनि श्रेष्ठले एक मात्र गोल गरे । अन्य स्ट्राइकर चल्न नसक्दा वडा नं. ३ सेमिफाइनलमै सीमित भयो । खेलको ‘प्लेयर अफ द म्याच’ ह्याट्रिक कर्ता अङ्कुर खड्गी घोषित भए । उनले १ हजार ५०० रुपैयाँ नगद पुरस्कार पाए ।
आइतबार हुने भेट्रान्स फुटबलको फाइनलमा वडा नं. ५ ले वडा नं. १० सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नगरपालिकाका ९ वडाका टिम सहभागी छन् । भेट्रान्सतर्फ विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार