भद्रपुर, झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ३ स्थित मातातीर्थ विष्णु पादुका मन्दिरमा आगामी २०८३ साल वैशाख ६ गतेदेखि १३ गतेसम्म श्रीमद्भागवत पुराण सञ्चालन हुने भएको छ। मन्दिरको अधुरो रहेको भवन निर्माण कार्य सम्पन्न गर्न तथा मन्दिर सञ्चालनका लागि आवश्यक अक्षयकोष स्थापना गर्ने उद्देश्यले पुराण आयोजना गर्न लागिएको हो। आयोजक समितिले भद्रपुरमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी पुराणका बारेमा औपचारिक जानकारी दिएको छ।

मन्दिर समितिका अध्यक्ष हेमप्रसाद खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पण्डित उदय शास्त्री खनालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा मन्दिर समितिका उपाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार उत्तम नेपालले गर्नुभएको थियो। पत्रकार भेटघाटका क्रममा अध्यक्ष खनालले मन्दिरको भौतिक संरचना निर्माण र दीर्घकालीन व्यवस्थापनका लागि समुदायको साथ आवश्यक रहेको भन्दै पुराण आयोजना गर्न लागिएको स्पष्ट पार्नुभयो।

आगामी वैशाखमा हुने उक्त पुराणको प्रमुख कथा वाचकका रूपमा पण्डित उदय शास्त्री खनाल रहनुहुनेछ भने पाठ पारायणको जिम्मेवारी पण्डित पदम प्रसाद पौडेलले सम्हाल्नुहुनेछ। आठ दिनसम्म चल्ने यस धार्मिक अनुष्ठानले भद्रपुर क्षेत्रको धार्मिक पर्यटन र सांस्कृतिक प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास आयोजकले लिएको छ। मन्दिर समितिले यस पुण्य कार्यमा सहभागी भई आर्थिक तथा भौतिक सहयोग गर्न सम्पूर्ण भक्तजन र समाजसेवीहरूलाई अपिल समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार