पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आगामी वैशाख २७ देखि २९ गतेसम्म पर्यटकीय नगरी पोखरामा हुने सातौँ राष्ट्रिय महाधिवेशनका लागि पुण्यप्रसाद (सरोज) सिटौलाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। यातायात क्षेत्रमा अनुभवी र प्रभावशाली नेताका रूपमा चिनिनुहुने सिटौलाले ‘शक्तिशाली महासंघ र सुरक्षित लगानी’ को मुख्य नारासहित आफ्नो १३ बुँदे कार्ययोजना र प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो।
सिटौलाले महासंघलाई राजनीतिक वाद र विवादभन्दा माथि उठाएर सबै व्यवसायीको साझा र बलियो छाता संगठन बनाउने संकल्प गर्नुभएको छ। उहाँको प्रतिबद्धता पत्रमा यातायात क्षेत्रका ऐन, नियम र नीति निर्माणमा व्यवसायीको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई प्रमुखताका साथ उठाइएको छ।
सिटौलाका मुख्य योजनाहरूमा राष्ट्रिय यातायात प्राधिकरण निर्माणका लागि पहल गर्ने, बिमा समस्या र सडकमा व्यवसायीले भोग्नुपर्ने झमेला अन्त्य गर्ने, र कानुनी जटिलता समाधानका लागि कार्यदलका सुझावहरू कार्यान्वयन गर्ने उल्लेख छ। साथै, उहाँले छरिएर रहेका विभिन्न यातायात सम्बद्ध महासंघहरूलाई एकीकृत गरी एउटै बलियो शक्ति निर्माण गर्ने र विज्ञ टोलीमार्फत सार्वजनिक यातायातको भावी खाका तयार पारी सरकारलाई सुझाव दिने लक्ष्य राख्नुभएको छ।
अन्तर्राष्ट्रिय स्तरमा अनुभव आदानप्रदान र व्यवसायीहरूको दक्षता अभिवृद्धिलाई समेत प्राथमिकतामा राख्नुभएका सिटौला एक ऊर्जाशील नेतृत्वका रूपमा चिनिनुहुन्छ। यातायात क्षेत्रको सुधार र लगानीको सुरक्षाका लागि उहाँको उम्मेदवारीलाई व्यवसायी र शुभचिन्तकहरूले अर्थपूर्ण रूपमा लिएका छन्।

















