बिर्तामोड, झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागुऔषध दुर्व्यसनी र दैवी प्रकोप न्यूनीकरणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। चेतना नेपालद्वारा झापाको बिर्तामोडमा सञ्चालित ‘लागुऔषध दुर्व्यसनविरुद्धको परामर्श केन्द्र’ को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो।

मुख्यमन्त्री कार्कीले कोभिड महामारीका समयमा निर्माण गरिएका ‘होल्डिङ सेन्टर’ हरूलाई अब जिल्ला सुरक्षा निकायमार्फत सुधार केन्द्र (रियाभ सेन्टर) का रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। “होल्डिङ सेन्टरहरूलाई सदुपयोग गर्दै सुधार केन्द्र बनाउन जरुरी छ,” उहाँले भन्नुभयो, “यसका लागि झापाका स्थानीय तह र प्रदेश सरकारले आवश्यक बजेट उपलब्ध गराउनेछ।”

कार्यक्रममा बोल्दै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले समाजमा लागुऔषधको जालो फैलिँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँहरूले यस्तो प्रतिकूल अवस्थामा चेतना नेपालले थालेको अभियानको प्रशंसा गर्दै यसलाई सामाजिक सुधारका लागि महत्त्वपूर्ण कदमका रूपमा चित्रण गर्नुभयो।

अभियानको नेतृत्व आमाहरूबाट चेतना नेपालका केन्द्रीय अध्यक्ष इन्द्र प्रसाद ओलीले संस्थाले २०६२ सालदेखि नै झापाका विभिन्न विद्यालय र पालिकाहरूमा सचेतना अभियान चलाउँदै आएको जानकारी दिनुभयो। लागुऔषध न्यूनीकरणका लागि ‘आमा’ हरूबाटै अभियान सुरु गरिएको उल्लेख गर्दै ओलीले भन्नुभयो, “हामी विभिन्न संघसंस्थासँग समन्वय गरेर सुधार केन्द्र सञ्चालन गर्न र अभिभावकत्व ग्रहण गर्न तयार छौँ।

उद्घाटन समारोहमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार