काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो हातमा सत्ता आए देशमा देशलाई उलट्पुलट बनाउने दाबी गरे। बुधबार काठमाडौंमा रेडफ्रन्ट नामक म्यागजीनको बिमोचन गर्दै विप्लवले हरेक विद्रोह अग्रगामी हुने बताएका हुन्।
उनले अहिले पूँजीवादप्रति पूँजीपतिहरू नै सन्तुष्ट नभएको पनि दाबी गरे। ‘हरेक विद्रोह अग्रगामी हुन्। पूँजीवदप्रती पूँजीपतिहरू नै सन्तुष्ट छैनन्। पूँजीवादले काम चल्दैन,’ उनले भने, ‘पूँजीवादका सबै पक्ष अस्वीकार गर्नुपर्छ भन्ने होइन। केही देशमा केही मान्छेसँग यति धेरै धन थुप्रिएको छ। त्यो आवस्यक हो कि होइन। नेपालका कयौं पार्टीहरू लगायत दलाल पूजीँवाद नै नेपाली जनताको दुर्दशा हो।’
विप्लवले नेपालमा सरकार बनाउँदा, पार्टी एक हुँदा, पार्टी फुट्दा पनि विदेशी चाहिने भन्दै दलालीकरणको भद्दा रुपम भएको टिप्पणी गरे। ‘पार्टी एकता गर्दा गर्दा, फुटाउँदा, सरकार बनाउँदा वा ढलाउँदा पनि विदेशी चाहिने। यो राजनीतिक दलालीकरणको भद्दा रूप हो,’ उनले भने, ‘जमिन सबै दलालहरूको हातमा छ। नेपालको धर्ती यहीँ छ तर जीवनभर काम गरेर किन्न सकिँदैन।’
जनताले समान अवसर पाउनुपर्छ भनेर आफूहरू क्रान्तिमा लागिरहेको उनको भनाइ छ। ‘जनताले समान अवसर पाउनुपर्यो। पूजीवादको ठेक्का हो ? यीनका छोराछोरी मात्रै पढ्ने ? यीनले मात्रै खाने ? यीनलाई लखेट्नुपर्छ,’ विप्लवले भने, ‘नेपाली युवा विदेशीनबाट रोकिनु पर्छ। हाम्रो हतमा देश आयो भने हामी देशलाई उलट्पुलट पार्छौं। हामी झुक्दैनौ। विदेशी आएर पार्टी बनाइ दिने समाजवाद चाहिँदैन। ल चुवानमा आउन त। पूजीवाद ठीक कि समाजवाद ठीक। ल लडौं न त।’
उनले हरेक सत्ताले एउटा लुटेराको समूह बनाउने र त्यसले कहिल्यै नजित्ने पनि दाबी गरे। ‘हरेक सत्ताले एउटा लुटेरा समूह बनाउँछ। लुटेरालाई कसले भोट हाल्छ ?,’ उनले थपे, ‘हामी जित्छौं। जनमत संग्रह गरौं। भ्रमित हुन जरुरी छैन। सबैले समाजवाद भन्ने अनि डराउने ? ल चुनाव लडौं न त। हामीलाई प्रतिबन्ध किन लाको ? हामीलाई त पुरस्कार पो दिनु पर्छ। बालुवाटरमा जग्गा बेचेर खानेलाई कारबाही नगर्ने ? हामीलाई प्रतिबन्ध लाउने ?’ साभार : लोकपाटी
















