१७ साउन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुमाथि जारी गरेको पक्राउ पुर्जी तत्काल फिर्ता गर्न माग गरेका छन् ।
पक्राउ पुर्जीलाई नियमित अदालती प्रक्रिया भनेर पन्छन नमिल्ने बताएका उनले सरकारले यस विषयमा अविलम्ब आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल मार्फत नेता श्रेष्ठले विप्लव नेतृत्वको नेकपाका नेताहरुमाथि पक्राउ पुर्जी जारी गरिएकोमा आपत्ति जनाएका हुन् ।
‘विप्लवहरुलाई जारी गरिएको पक्राउ पुर्जीका बारेमा नियमित अदालती प्रक्रिया भनेर पन्छन मिल्दैन ,यसलाई खारेज गर्नु अनिवार्य छ । सरकारले अविलम्ब आवश्यक कदम चालोस् ।’ नेता श्रेष्ठले भनेका छन् ।
सोमबार ललितपुर जिल्ला अदालतले सार्वजनिक सूजना जारी गर्दै महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विक, विप्लव समूहबाटै हालै मात्र विद्रोह गरी नेकपा बहुमत गठन गरेका मेहन्तप्रकाश वली, मोहनबहादुर कार्कीलगायतविरुद्ध हातहतियार तथा खरखजाना, साङ्गठनिक अपराध र आपराधिक लाभ, विस्फोट गराई कर्तव्य ज्यान तथा राज्य विरुद्धको अपराध र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।
















