हल्दीबारी, झापा । वैदेशिक रोजगारबाट फर्किएका स्थानीय युवाहरू उपयुक्त अवसरको खोजीमा रहिरहेका बेला झापाको हल्दीबारी-४, च्याङ्ग्रा बन्दाका डम्बर दाहाल भने गाउँमै उदाहरणीय उद्यमी बनेका छन्। उनले सञ्चालन गरेको ‘दाहाल राइस मिल’ अहिले स्थानीय बासिन्दाका लागि भरपर्दो सेवा केन्द्र मात्र बनेको छैन, उनको आम्दानीको मुख्य स्रोत समेत बनेको छ।

​लामो समयदेखि सञ्चालित यस मिलमार्फत स्थानीयले खाद्यान्न पिसानी तथा तेलानी (तेल पेल्ने) सेवा सहज रूपमा पाइरहेका छन्। बजारमा मिसावटयुक्त तेल र खाद्यान्नको बिगबिगी भइरहेका बेला दाहालले आफ्नै मिलमा प्रशोधन गरिएको पूर्ण रूपमा शुद्ध तोरीको तेल प्रतिलिटर ४०० रुपैयाँमा बिक्री वितरण गर्दै आएका छन्। स्थानीय स्तरमै उत्पादित तोरीको शुद्ध तेल पाउने भएपछि उपभोक्ताहरू समेत निकै खुसी छन्।

​मिलमा तोरी पेल्ने मात्र नभई विभिन्न मसला, बेसार, मकै, धान कुट्ने तथा मकै छोडाउने आधुनिक सुविधा समेत उपलब्ध छ। यसका साथै विभिन्न किसिमका पिठो उत्पादन र तिलजन्य पदार्थ पेल्ने काम पनि मिलबाट भइरहेको छ।

डम्बरको यो व्यावसायिक यात्रामा उनकी श्रीमतीले उत्तिकै बलियो साथ दिएकी छिन्। मिलको दैनिक व्यवस्थापन, ग्राहकको सेवा र काममा उनले हातेमालो गर्दा व्यवसायलाई अझ सहज र व्यवस्थित बनाउन मद्दत पुगेको देखिन्छ। श्रीमान्-श्रीमतीको यो संयुक्त मिहिनेत र सहकार्यले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

​खासगरी वैदेशिक रोजगारीबाट फर्किएपछि के गर्ने भन्ने अन्योलमा रहेका युवाहरूका लागि डम्बर दाहाल एक प्रेरणाको स्रोत बनेका छन्। विदेशको भूमिमा पसिना बगाउनु भन्दा स्वदेशमै आफ्नै पौरख र सानो लगानीबाट सुरु गरिएको व्यवसायले कसरी आत्मनिर्भर बनाउन सक्छ र राम्रो आम्दानी दिन्छ भन्ने कुरा डम्बर र उनको परिवारले प्रमाणित गरिदिएका छन्। AI बाट निर्मित तस्बिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार