सत्तारुढ गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गठबन्धनका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई तथा जसपाका उपाध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । सरकारको न्यूनतम साझा कार्यक्रम काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पढेर सुनाएका थिए । सरकारले सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान गर्ने घोषणा गरेको छ ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका छिमेकी मुलुकहरूसँगको समाधान हुन बाँकी सीमा समस्याहरु कूटनीतिक माध्यममार्फत समाधान गर्ने । सीमा क्षेत्रमा सुरक्षाका लागि सीमा चौकी बीओपीहरु वृद्धि गर्ने ।’ बताए ।
त्यस्तै सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने, कोभिड १९ को महामारीमा नागरिकको जीवन रक्षा गर्ने, संविधानको सर्वोच्चता कानुनी राज्यको प्रत्याभुति दिने, शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरुसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गर्ने रहेका छन् ।
यस्तै अन्य कार्यक्रममा सामाजिक आर्थिक रूपान्तरणको आधार निर्माण गर्दै उच्च समन्वयायिक विकासमा जोड दिने, सङ्घीयता कार्यान्वयन एवं प्रदेश र स्थानीय तहका सरकारहरूको सबलीकरणका लागि आवश्यक कानुन तर्जुमा गर्ने र संसद्मा विचाराधीन विधेयकहरू टुङ्गो लगाउने, कोभिड १९ कारण सङ्कटग्रस्त उद्योग, पर्यटन, सञ्चार, यातायात,पार्टी प्यालेस, व्यायामशाला, सिनेमा तथा मनोरञ्जन लगायतका उद्योगहरूको उत्थान तथा बेरोजगारका लागि आर्थिक प्याकेज ल्याउने र बाढी पहिरो लगायतका पीडितलाई राहत तथा पुनर्स्थापना गर्ने रहेका छन् । त्यसैगरी सरकारले उत्पादनमुखी अर्थतन्त्रमा जोड,आपूर्ति व्यवस्थामा सुधार, महँगी नियन्त्रण तथा भ्रष्टाचारको छानबिन र कारबाहीका लागि अग्रसरता लिने पनि साझा कार्यक्रममा समेटिएको छ ।
यस्तै सरकारको प्राथमिकतामा आपसी संवाद, सहमति र संस्कृतिको विकास गरेर राष्ट्रिय एकता सुदृढ गर्ने रहेको छ ।