काठमाडौँ । नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौँ महानगर समितिको आयोजनामा ‘सांगीतिक माहोलमा गरौँ रक्तदान’ भन्ने विशेष आह्वानसहित रक्तदान तथा रक्तदान जागरण गीतहरूको ऐतिहासिक सामूहिक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।
एवं इभेन्ट सोलुसनको व्यवस्थापनमा स्थानीय नेपाल पुलिस क्लबको सभाकक्षमा आयोजित कार्यक्रममा बौद्ध भिक्षु भिक्षु कौण्डिन्य महास्थविर प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यका शब्द रचना र वरिष्ठ संगीतकार मनराज नकर्मीको संगीत संयोजनमा तयार भएका छ वटा रक्तदान जागरण गीत सार्वजनिक गरियो।
लोकार्पण कार्यक्रममा विशेष अतिथिका रूपमा प्रेमपूर्ण सानुमैयाँ असहाय सेवा कोषकी संरक्षक सानुमैयाँ कर्माचार्य तथा अतिथिहरू भिक्षु नागित, भिक्षु शुद्धिको, भिक्षु बुद्धदत्त र श्रद्धाचारी गुरूमाँको उपस्थिति रहेको थियो।
कार्यक्रमको औपचारिक उद्घाटन गर्दै प्रमुख अतिथि भिक्षु कौण्डिन्य महास्थविरले १८ वर्षमा प्रवेश गरेकी स्वयंसेवी रक्तदाता निर्जला दुलाललाई रक्त संकलन थैली हस्तान्तरण गर्नुभयो। सो अवसरमा उहाँले बुद्ध शिक्षामा दान र त्यागको महत्व उल्लेख गर्दै भन्नुभयो, “दान भनेको केवल सम्पत्ति मात्र होइन, कसैलाई केही नभनी आफ्नो रगत दान गरेर जीवन दिनु सबैभन्दा महान त्याग हो।”
गीतहरूको संगीत संयोजन गरेका वरिष्ठ संगीतकार मनराज नकर्मीले करिब चार दशकदेखि संगीत क्षेत्रमा सक्रिय रहँदै रक्तदान जस्तो मानवीय र पवित्र अभियानका लागि संगीत दिन पाउनु आफूका लागि जीवनकै सौभाग्य भएको बताउनुभयो। उहाँले यस अभियानमा संलग्न सम्पूर्ण गायक–गायिका र सहयोगीप्रति आभार व्यक्त गर्नुभयो।
गीतका रचनाकार प्रेमसागर कर्माचार्यले गीत–संगीत क्षेत्रमा रचनाकार प्रायः ओझेलमा पर्ने गरेको उल्लेख गर्दै रचनाकार नै संगीतको भावनात्मक आधार भएको बताउनुभयो। उहाँले नेपालमा पहिलोपटक ‘रक्तदान गरि गरौँ जीवनदान…’ बोलको रक्तदान जागरण गीत सार्वजनिक गरिएको स्मरण गराउँदै रक्तदान अभियानलाई निरन्तर अगाडि बढाउन सबैलाई आग्रह गर्नुभयो। सोही अवसरमा १८औँ जन्मदिनको अवसर पारेर रक्तदान गर्ने निर्जला दुलाललाई प्रमुख अतिथिबाट शुभकामना–पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा रक्तदान जागरण गीतमा योगदान पुर्‍याउने रचनाकार, संगीतकार तथा कलाकारहरूलाई प्रमुख अतिथि भिक्षु कौण्डिन्य महास्थविरद्वारा कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै रक्तदान गर्ने सम्पूर्ण स्वयंसेवीलाई समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले प्रशंसा–पत्र वितरण गर्नुभएको थियो।
नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौँ महानगर समितिका अध्यक्ष राम रञ्जितको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण तथा उद्घोषण डा. घनश्याम खतिवडाले गर्नुभएको थियो। कार्यक्रममा नेपाल आइडल सिजन–६ की विजेता गंगा सोनामलाई बधाई तथा शुभकामना–पत्र प्रदान गरी सम्मान गरिएको थियो।
लोकार्पण गरिएका गीतहरूमा ‘रगतको महिमा अपरम्पार’, ‘दैव भन्ने तिमी कहाँ छौ ?’, ‘सत्कर्म सत्बाणी’, ‘उठौँ साथी जुटौँ जुटौँ’, ‘विकल्प रहित रगतको मूल स्रोत हामी’ र ‘रगतको दान रक्तदान, जीवनको दान जीवनदान’ रहेका छन्। गीतमा तिलक्ष्मी प्रजापतिको बाँसुरी वादन पनि समावेश गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार