विशेष प्रतिनिधि / नामची (सिक्किम)

दक्षिण सिक्किमको नामची जिल्लास्थित निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या २० पुगेको छ। राष्ट्रिय जलविद्युत् निगम (NHPC) द्वारा प्रवर्द्धित टिस्टा स्टेज-VI जलविद्युत् आयोजनाको समरडुङ-झोलुङ्गेस्थित सुरुङमा सोमबार निर्माण कार्य भइरहेका बेला मिथेन ग्यास विस्फोट हुँदा सो विनाशकारी दुर्घटना भएको हो।

विस्फोटपछि सुरुङको माथिल्लो भाग भत्किँदा त्यहाँ कार्यरत दर्जानौँ कामदार भग्नावशेषमुनि थिचिएका थिए। मङ्गलबार र बुधबार दिनभर चलाइएको उद्धार कार्यका क्रममा थप शवहरू फेला परेपछि मृतकको सङ्ख्या २० पुगेको हो। सुरुङभित्र अझै कम्तीमा ५ जना कामदार फसिरहेको आशङ्का गरिएको छ।
दुर्घटनास्थलमा राष्ट्रिय विपद् प्रतिक्रिया बल (NDRF) को सिलीगुडीस्थित विशेष टोलीसहित भारतीय सेना, स्थानीय प्रहरी र आयोजनाका प्राविधिकहरू रातदिन उद्धारमा खटिएका छन्। सुरुङभित्र गहिरो अँध्यारो, अक्सिजनको चरम कमी र निरन्तर पहिरो खस्ने जोखिमका कारण उद्धार टोलीले ठूलो चुनौती सामना गर्नुपरिरहेको छ।
फसेका कामदारहरूसम्म पुग्नका लागि भारी मेसिनरी र अक्सिजन सिलिन्डरसहितका विशेष उपकरण प्रयोग गरी भग्नावशेष हटाउने काम तीव्र पारिएको छ। समय बित्दै जाँदा भित्र फसेकाहरूको जीवितै उद्धार हुने सम्भावना क्षीण बन्दै गएको उद्धारकर्मीहरूले बताएका छन्।
घटनापछि सिक्किमका मुख्यमन्त्रीका साथै पश्चिम बङ्गाल सरकारका प्रतिनिधि तथा मन्त्री विशाल लामासमेत घटनास्थल पुगेर स्थिति र उद्धार कार्यको अनुगमन गरेका छन्। मृतकमध्ये केही कामदारहरू पश्चिम बङ्गालको जलपाईगुडी जिल्ला तथा वरपरका क्षेत्रका रहेकाले छिमेकी राज्यमा पनि शोकको वातावरण छ।
यसैबीच, भारतीय प्रधानमन्त्री र केन्द्रीय गृहमन्त्रीले सिक्किमका मुख्यमन्त्रीसँग टेलिफोन संवाद गरी घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहतका लागि केन्द्र सरकारका तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाएका छन्।
सिक्किम सरकारले मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेहरूको नि:शुल्क उपचारको घोषणा गरेको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन र सुरक्षा मापदण्डको पालना भए-नभएको छानबिन गर्न उच्चस्तरीय टोली गठन गरिने जनाइएको छ।
