समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

स्व. जगत बहादुर तथा नरमाया स्मृति प्रतिष्ठानद्वारा आयोजित दोस्रो वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नं. ३ र ४ को विजयी सुरुवात

अभिषेक खतिवडा/ झापा — स्व. जगत बहादुर तथा नरमाया वन स्मृति प्रतिष्ठानद्वारा आयोजित दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता–२०८२ आजदेखि हल्दीबारी माध्यमिक विद्यालयको खेलमैदानमा भव्य रूपमा सुरु भएको छ। हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, उपाध्यक्ष लक्ष्मी देवी मैनाली, नेपाल प्रहरी झापाका डीएसपी राजन लिम्बु, सशस्त्र प्रहरीका डीएसपी तुलबहादुर भण्डारीसहित विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा हल्दीबारी माविका पूर्व प्रधानाध्यापक तथा समाजसेवी नरेन्द्रकुमार कार्की, ‘द भ्वाइस अफ किड्स’ की सेमिफाइनलिस्ट निर्देशिका आछामी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, प्रतिष्ठानका संस्थापक सदस्य, शिक्षक–कर्मचारी, रेडक्रसकर्मी तथा स्थानीय संघ–संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए। प्रतिष्ठानका संस्थापक मानबहादुर वन (महेन्द्र) ले प्रतियोगिताको उद्देश्य र समुदायमा खेलकुदले ल्याउने सकारात्मक प्रभावबारे प्रकाश पारे।

विज्ञापन (Advertisement)Advertisement

प्रमुख अतिथि लिङ्देनसहित विशिष्ट व्यक्तिहरूले पानस प्रज्वलन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरे। शुभकामना मन्तव्यमा पूर्व प्रधानाध्यापक कार्की, प्रमुख जिल्ला अधिकारी गेलाल र प्रमुख अतिथि लिङ्देनले खेलकुदले सामाजिक एकता, भाइचारा र अनुशासन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

उद्घाटनको पहिलो खेल वडा नं. २ ‘ख’ र वडा नं. ४ बीचमा भयो। निर्धारित समयसम्म खेल १–१ गोलको बराबरीमा रोकिएपछि टाइब्रेकरमा प्रवेश गरेको खेलमा वडा नं. ४ विजयी भयो। वडा २ ‘ख’का मङ्गल मुर्मू र वडा ४ का सुप्रिम मेचेले एक–एक गोल गर्दै खेललाई रोमाञ्चक बनाए।

दोस्रो खेल वडा नं. १ र वडा नं. ३ बीचमा सम्पन्न भयो, जसमा वडा नं. ३ ले २–१ को जित हात पार्यो। वडा नं. १ का रोचक लिम्बूले एक गोल गरे भने वडा नं. ३ का बिक्रम पुरी र कप्तान किरण मेचे निर्णायक गोलकर्ता बने। पहिलो हाफमा पछि परेको वडा नं. ३ ले खेलको अन्तिम क्षणमा २ मिनेटको अन्तरमा दुई गोल फर्काउँदै नाटकीय जित दर्ता गर्‍यो।

प्रतियोगितामा गाउँपालिकाका पाँच वडाबाट छ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। विजेताले नगद २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। विभिन्न विधागत पुरस्कारसमेत वितरण गरिनेछ। फाइनल खेल मंसिर १८ गते हुनेछ।

फुटबल प्रतियोगितासँगै प्रतिष्ठानले शिक्षाप्रेमी नरेन्द्र कार्की र बालगायिका निर्देशिका आछामीलाई सम्मान गरेको छ।

कार्यक्रम प्रतिष्ठानका संरक्षक अधिवक्ता डम्बर वनको अध्यक्षतामा सम्पन्न भयो। स्वागत मन्तव्य हल्दीबारी माविका प्रधानाध्यापक टंकबहादुर पाख्रिनले राखेका थिए भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण शिक्षक तुलसी कोइरालाले गरेका थिए।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)