हल्दिबारी (झापा) — निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) हल्दिबारीको आयोजनामा पालिका स्तरीय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा उजागर गर्दै शिक्षा, खेलकुद र संस्कृतिलाई सँगसँगै अघि बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो।

हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यता तथा प्याप्सन हल्दिबारी अध्यक्ष यमनाथ दंगालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनसँग आबद्ध निजी विद्यालयहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लिङ्देनले पढाइसँगै खेलकुद र सांस्कृतिक गतिविधिले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता सिर्जनात्मक कार्यक्रमले विद्यार्थीलाई आत्मविश्वासी र प्रतिस्पर्धी बनाउन मद्दत गर्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र , वडा नम्बर ४ का अध्यक्ष सन्तकुमार थापालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्याब्सन जिल्ला सदस्य नितेश खरेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन योगेश कार्कीले गर्नुभएको थियो। प्रतियोगितामा हल्दिबारीका प्याप्सनमा आबद्ध निजी विद्यालयका विद्यार्थीहरूले गायन तथा नृत्य विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

राष्ट्रिय स्तरमा ख्याति प्राप्त निर्णायकहरूको सहभागितामा सम्पन्न प्रतियोगिताले हल्दिबारीमा सांगीतिक तथा नृत्य कलाको विकासलाई नयाँ दिशा दिने अपेक्षा गरिएको आयोजकले बताएका छन्।

प्रतियोगिताको नतिजा
गायन (१२ वर्ष मुनि)
प्रथम: दिवस विश्वकर्मा — संस्करा शिक्षा सदन
द्वितीय: दिपेश दंगाल — न्यू स्टार इङ्लिस स्कुल
तृतीय: अनुष्का चौहान — कृष्णसागर इङ्लिस स्कुल
गायन (१२ वर्ष माथि)
प्रथम: रञ्जिता पौडेल — कृष्णसागर इङ्लिस स्कुल
द्वितीय: सृष्टि पोखरेल — क्यानरी एकेडेमी
तृतीय: डिजेला राई — सिग्मा इङ्लिस स्कुल
एकल शास्त्रीय नृत्य
प्रथम: आशिका तामाङ — क्यानरी एकेडेमी
द्वितीय: सन्दिपा — न्यू स्टार इङ्लिस स्कुल
तृतीय: एन्जिला मुर्मु — कृष्णसागर इङ्लिस स्कुल
सांस्कृतिक (कल्चरल) नृत्य
प्रथम: न्यू स्टार इङ्लिस स्कुल
द्वितीय: गोलधाप सनसाइन स्कुल
तृतीय: संस्करा शिक्षा सदन
विजयी विद्यार्थी तथा विद्यालयहरूलाई कार्यक्रमका विशिष्ट अतिथि वडा अध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्य भावना दाहाल, चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलका प्रिन्सिपल दुर्गामणि गौतम तथा हल्दिबारी डट कमका प्रधान सम्पादक बिमलीले मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
शिक्षामा लगानीसँगै खेलकुद र सांस्कृतिक गतिविधिलाई निरन्तरता दिँदै आएको प्याप्सन हल्दिबारीको पहल झापा जिल्लामै उदाहरणीय बन्दै गएको सहभागीहरूको भनाइ छ। विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी बहुआयामिक रूपमा अघि बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने सरोकारवालाहरूले बताएका छन्।

















