झापा, हल्दीबारी । हल्दीबारी गाउँपालिका वडा नम्बर ४ लाई आज एक विशेष कार्यक्रमका बीच बालमैत्री वडा घोषणा गरिएको छ। कोशी प्रदेश सभा सभामुख माननीय अमरबहादुर बिष्टले कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपस्थित भई वडा बालमैत्री घोषणा गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख बिष्टले समाजमा बढ्दो बालहिंसा तथा लागूऔषध दुरुपयोग न्यूनीकरणका लागि सबै सरोकारवालाको साझा भूमिका आवश्यक रहेको बताउनुभयो। बालबालिकालाई सानैदेखि असल शिक्षा, संस्कार र नैतिक मूल्यमा आधारित बनाउन सके मात्र सभ्य समाज निर्माण सम्भव हुने उहाँको भनाइ थियो।

साविक जलथल गाविस र हालको हल्दीबारी गाउँपालिकाबीच पुरानो आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै सभामुख बिष्टले बालमैत्री घोषणा भएको वडा नम्बर ४ लाई प्रदेश सरकारको आगामी बजेटमार्फत केही रकम विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


हल्दीबारी गाउँपालिकाका पाँच वडामध्ये वडा नम्बर ४ पहिलोपटक बालमैत्री वडा घोषणा हुने वडा बनेको हो। कार्यक्रमका अध्यक्ष तथा वडा नम्बर ४ का अध्यक्ष सन्त कुमार थापा मगरका अनुसार बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाबाट १० लाख रुपैयाँ पुरस्कार समेत प्राप्त गर्नेछ।। उक्त रकम बालबालिकाको शिक्षा, संरक्षण तथा सहभागितामूलक गतिविधिमा खर्च गरिने उहाँले जानकारी दिनुभयो।

यसैबीच, समारोहलाई थप आकर्षक बनाउँदै विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य, गीत तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। बालबालिकाको प्रतिभा, सिर्जनशीलता र सांस्कृतिक पहिचान झल्किने प्रस्तुतिले कार्यक्रमलाई जीवन्त बनाएको थियो भने सहभागी अतिथि, अभिभावक तथा स्थानीयवासीले विद्यार्थीहरूको प्रस्तुतीको प्रशंसा गरेका थिए।

कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय विद्यालयका विद्यार्थी, अभिभावक, संघ–संस्थाका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायत विशिष्ट महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो।


















