समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

हल्दीबारीमा २.३३ किमी कालोपत्रे सडक ‘भुल्का मार्ग’ नामकरण

झापा , हल्दीबारी। पूर्व उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दीबारी गाउँपालिकामा नवनिर्मित २ हजार ३३० मिटर लामो कालोपत्रे सडकको नामकरण गर्नुभएको छ।

विशेष समारोहबीच लिङ्देनले हल्दीबारी–१ स्थित ओमचोकदेखि वडा नं. ५ को धनुषा आविसम्म निर्माण सम्पन्न भएको उक्त सडकलाई ‘भुल्का मार्ग’ नामकरण गर्दै औपचारिक उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले जनप्रतिनिधि र कर्मचारी इमानदार भइ काम गर्दा विकास निर्माणका काम छिटो र सहज रूपमा अघि बढ्ने बताउनुभयो।

विज्ञापन (Advertisement)Advertisement

भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै तहका जनप्रतिनिधि प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्दै लिङ्देनले आम नागरिकका साना–साना समस्या समेत समयमै समाधान गर्न निरन्तर खबरदारी गरिरहेको बताउनुभयो। आफ्नो निर्देशनअनुसार यहाँका विकास आयोजनाहरू समयमै सम्पन्न भएकोप्रति सन्तोष व्यक्त गर्दै उहाँले अन्य पालिकालाई समेत प्राथमिकतामा राखेर काम गरेको धारणा राख्नुभयो।

हल्दीबारी गाउँपालिका र सङ्घीय सरकारको संयुक्त लगानीमा २ करोड ६५ लाख ४३ हजार ३ सय ८९ रुपैयाँको लागतमा टेन्डर प्रक्रियामार्फत उक्त सडक निर्माण गरिएको हो। पार्वती–अम्बिका ग्लोबल भिमेश्वर जेभीले ५.५ मिटर चौडाइको २.३३ किमी सडक कालोपत्रे गर्नुका साथै गोलधाप बजारदेखि वडा कार्यालयसम्म पुग्ने ३१० मिटर लम्बाइ र ६ मिटर चौडाइको सडकमा पेभर ब्लक बिछ्याउने काम पनि सम्पन्न गरेको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली , वडा नं. १ का अध्यक्ष देवीबहादुर थापा, नेपाली कांग्रेस हल्दीबारीका कोषाध्यक्ष राजेन्द्र ओलीलगायतले हल्दीबारीमा भएका विकास निर्माणका कामबारे चर्चा गर्नुभएको थियो। उक्त अवसरमा सडक निर्माण कम्पनीका प्रोप्राइटर हरि भट्टराईलाई सम्मान समेत गरिएको थियो।

उद्घाटन समारोहमा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गर्नुभएको थियो।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)