तेल अभिभ । मणपुर र मिजोरममा बसोबास गर्दै आएका ‘बनी मेनाशे’ समुदायका २५० यहुदी सदस्यहरूको पहिलो जत्था इजरायल पुगेको छ। इजरायल सरकारले सञ्चालन गरेको ‘अपरेशन विङ्ग्स अफ डन’ अन्तर्गत बिहीबार दिल्ली हुँदै उनीहरूलाई विशेष विमानमार्फत तेल अभिभ पुर्याइएको हो। बाइबलमा उल्लेख गरिएको १० हराएका जनजाति (लस्ट ट्राइब्स) मध्येको एक मानिने यस समुदायका सदस्यहरू करिब २५ सय वर्षपछि आफ्नो ऐतिहासिक जरा खोज्दै इजरायल फर्किएका हुन्।

इजरायलका इमिग्रेसन मन्त्री ओफिर सोफरले बेन गुरियन विमानस्थलमा उनीहरूलाई स्वागत गर्दै यसलाई ऐतिहासिक पुनर्मिलनको संज्ञा दिनुभएको छ। सरकारले सन् २०३० सम्ममा भारतमा रहेका बाँकी करिब ४ हजार ६ सय बनी मेनाशे सदस्यहरूलाई पनि इजरायल लैजाने लक्ष्य राखेको छ, जसअन्तर्गत प्रत्येक वर्ष १ हजार २०० मानिसलाई फिर्ता लगिनेछ। विगत दुई दशकमा ५ हजारभन्दा बढी मानिसहरू भारतबाट इजरायल गइसकेका छन्। सन् ७२२ ईसापूर्वमा असिरियाली साम्राज्यसँगको युद्धपछि विस्थापित भएको यो समुदाय तिब्बत र चीन हुँदै भारतको उत्तर-पूर्वी क्षेत्रमा आइपुगेको विश्वास गरिन्छ।


















