दमक, ३१ आषाढ । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत छैटौँ तहका इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल र आयोगको इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई झापाको दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट घुसबापतको रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार इन्जिनियर खड्काले गाउँपालिका क्षेत्रभित्र पर्ने पुलको ‘रिडिजाइन’ (पुनः नक्साङ्कन) स्वीकृत गराइदिएको तथा निर्माण ठेक्काको भुक्तानी प्रक्रिया सहज बनाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग उक्त रकम माग गरेका थिए। सेवाग्राहीबाट घुसबापतको ६ लाख रुपैयाँ बुझ्दै गरेको अवस्थामा विशेष सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका खड्कामाथि हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ।

