हल्दिबारी न्यूज डेक्स ,दिकतेल खोटाङ /। कोरोना महामारीको दोस्रो लहरले चार महिनादेखि बन्द रहेको खोटाङको हलेसी मन्दिर खुला भएको छ । जिल्लामा कोभिड १९ को संक्रमण दर घट्दै गएको तथा संक्रमण दर न्यून रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा संयोजकत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) को बैठकको निर्णय अनुसार सोमबार (आज) बिहान हलेसी खुला गर्दै पूजाआजा सुरु गरिएको हो ।
यसअघि १५ वैशाखदेखि हलेसीमन्दिरसँगै गुफा बन्द गरिएको थियो । कोभिडसम्बन्धी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्नेगरी मन्दिर खुला गरिएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए ।
हलेसी महादेव मन्दिरमा भीडभाड हुन नदिन र दर्शनार्थीलाई दर्शन गर्ने उपयुक्त व्यवस्थापनमा हलेसी मन्दिर व्यवस्थापन समिति, हलेसी महादेवस्थान विकास समिति र नगरपालिकाले सहकार्य गर्ने छन् ।-कमला ओम बशिष्ठ

















