काठमाडौँ । रोनक उप्रेती र स्वस्तिका चौधरीले नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२६ को उपाधि जितेका छन् । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए) को आयोजनामा शनिबार काठमाडौं स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा सम्पन्न प्रतियोगितामा रोनक पुरुष र स्वस्तिका महिलातर्फ च्याम्पियन बनेका हुन् । उपाधिसँगै दुवैले जनही ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

​प्रतियोगिताको पुरुषतर्फ पेम्बा छेवाङ तामाङ दोस्रो र सुलभ राई तेस्रो भए भने महिलातर्फ मनिषा बुढा मगरले दोस्रो तथा रबिका महर्जनले तेस्रो स्थान हासिल गरे । दोस्रो स्थान हासिल गर्ने दुवै खेलाडीले जनही २० हजार र तेस्रो हुनेले जनही १० हजार रुपैयाँ नगद पुरस्कार पाए । यसका साथै महिला र पुरुष दुवै विधाका शीर्ष तीनभित्र पर्न सफल खेलाडीहरूलाई गेयर पार्टनर पेलियट नेपालका तर्फबाट करिब १ लाख रुपैयाँ बराबरको खेल सामग्री प्रदान गरिएको थियो ।

​एकदिने उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव राम चरित्र महेताले गरेका थिए । प्रतियोगिताको पुरुषतर्फ ३५ र महिलातर्फ ७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फ क्वालिफिकेसन राउन्डबाट अन्तिम चरणका लागि ८ खेलाडी छनोट भएका थिए, जसको कडा प्रतिस्पर्धाका आधारमा विजेताको टुङ्गो लागेको हो ।

​लामो समयको अन्तरालपछि एनसीएसएले गत वर्ष ६ वर्षको ब्रेक तोड्दै राष्ट्रिय च्याम्पियनसिप आयोजना गरेको थियो । त्यसैलाई निरन्तरता दिँदै यस वर्ष बोल्डरिङ विधाको नेशनल च्याम्पियनसिप आयोजना गरिएको हो । एनसीएसएका अध्यक्ष रमेश पौडेलले आगामी दिनमा वार्षिक कार्यक्रमको क्यालेन्डर नै बनाएर हरेक वर्ष राष्ट्रिय प्रतियोगिता गर्ने जानकारी दिए । नेपालमा क्लाइम्बिङ खेलको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले यस वर्ष खेलाडीको संख्या बढेको र आगामी दिनमा नयाँ खेलाडीहरूका लागिसमेत राष्ट्रिय च्याम्पियनसिप खेल्ने अवसर सिर्जना गरिने बताए ।

​विजेता खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटीका सह-महासचिव रामजी बहादुर श्रेष्ठ र एनसीएसएका अध्यक्ष पौडेल लगायतले मेडल, पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितालाई पेलिएट नेपाल, एलाइट एक्सपेड, एट के एक्सपेडिसन्स, अल्टीप्रो एडभेन्चर, सातोरी एडभेन्चर, सेभेन समिट ट्रेक्स, १४ पिक्स एक्सपेडिसन, बिल, पायोनियर एडभेन्चर र ब्ल्याक डायमन्डले सहयोग गरेका थिए । ब्ल्याक डायमन्डले नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुने महिला र पुरुष १–१ खेलाडीलाई गेयर स्पोन्सर गर्ने घोषणासमेत गरेको छ । प्रतियोगिताको टेक्निकल पार्टनरका रूपमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन रहेको थियो भने इन्डियन माउन्टेनिरिङ फाउन्डेसनले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार