हल्दिबारी (झापा) । विश्व रक्तदाता दिवसको अवसर पारेर हल्दिबारी जेसीजले झापाको बिर्तामोडस्थित तारा नमस्ते बालग्रामका बालबालिकाका लागि निःशुल्क रक्त परीक्षण तथा खाद्यान्न वितरण कार्यक्रम गरेको छ।
मञ्जु मेमोरियल हेल्थ सेन्टरको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा बालग्राममा आश्रित ३२ जना बालबालिकाको निःशुल्क रक्त परीक्षण गरिएको हो। सो अवसरमा डा. सुरज शर्माले बालबालिकाको रगत परीक्षण गर्नुका साथै रक्तदानको महत्त्वबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा बालग्रामलाई आवश्यक खाद्यान्न सामग्रीसमेत हस्तान्तरण गरिएको छ।
हल्दिबारी जेसीजका अध्यक्ष जेसी नितेश खरेलको अध्यक्षतामा भएको कार्यक्रममा तारा नमस्ते बालग्रामकी कार्यकारी प्रमुख यशोदा पोखरेलले जेसीजले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यो कार्य अत्यन्तै उदाहरणीय रहेको बताउनुभयो। “अभिभावकविहीन बालबालिकाप्रति देखाइएको यो माया र सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ,” उहाँले भन्नुभयो।
त्यस्तै, संस्थाकी प्रमुख सल्लाहकार जेसी हिमा मिश्र पौडेलले हल्दिबारी जेसीजले मानवीय कार्यलाई सधैं प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो। संस्थाले हल्दिबारी–२ मा विपन्न परिवारका लागि घर निर्माणलगायतका सामाजिक कार्यहरू निरन्तर गरिरहेको उहाँले स्मरण गराउनुभयो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष खरेलले नेपाल जेसीजले देशभर रक्तदान कार्यक्रम गरिरहेका बेला हल्दिबारी जेसीजले भने अभिभावकविहीन बालबालिकालाई लक्षित गरी फरक र सन्देशमूलक कार्यक्रम गरेको बताउनुभयो। “यी बालबालिकाको कोही छैन भन्ने होइन, हल्दिबारी जेसीज सधैं उनीहरूको साथमा छ भन्ने सन्देश दिन हामी यहाँ आएका हौं,” खरेलले भन्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता मानवीय र नवीन कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
महासचिव जेसी अनिल चौहानले सञ्चालन गरेको उक्त कार्यक्रममा कानुनी सल्लाहकार जेसी योगेश कार्की, कार्यकारी उपाध्यक्ष मिलन बिके, उपाध्यक्ष बीपी कोइराला, कोषाध्यक्ष भीम भट्टराई, सदस्य पवन गिरीलगायत संस्थाका पदाधिकारी, बालग्रामका बालबालिका तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

















