हल्दिबारी (झापा)— झापाका विभिन्न स्थानबाट प्रहरीले ठूलो संख्यामा लागूऔषध सेवनकर्ता र कारोबारीहरूलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका कार्यालयहरूबाट खटिएको विशेष ‘स्वीप अप्रेशन’ टोलीले ६८ जनालाई पक्राउ गरेको हो ।

​शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको उक्त अप्रेशनका क्रममा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका ५९ जना पुरुष र ६ जना महिला गरी ६५ जना सेवनकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी विजय चौहानले जानकारी दिए ।

​निमित्त सूचना अधिकारी चौहानका अनुसार प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित ३ जना कारोबारी समेत समातिएका छन् । पक्राउ पर्नेहरूमा झापाको अर्जुनधारा नगरपालिका–९ बस्ने २८ वर्षीय कैलाश रसाइली र २३ वर्षीय अजय राजवंशी रहेका छन् । उनीहरूको साथबाट प्लाष्टिकबाहेक १४ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

​यसैगरी, बिर्तामोड नगरपालिका–७ बस्ने ३० वर्षीय विष्णु सिंह राजवंशीको साथबाट ५ ग्राम ४० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । प्रहरीले उनीहरूको साथबाट जम्मा १९ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान कार्य भइरहेको चौहानले बताए ।

​यसैबीच, नियन्त्रणमा लिइएका लागूऔषध सेवनकर्ताहरूलाई प्रहरीले सुधारको प्रयास थालेको छ । उनीहरूलाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकता अनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनर्स्थापना केन्द्रहरूमा पठाउने कार्य समेत भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार