झापा । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
शनिबार बिहान करिब ४:५५ बजे मेचीनगर–४ वडा कार्यालय अगाडि स्थानीय ६२ वर्षीया पद्मा पौडेललाई घरबाट बाहिर निस्कने क्रममा अचानक आएको जंगली हात्तीले कुल्चिएको हो । हात्तीको आक्रमणबाट पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको छ ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक वीरेन्द्र कोइरालाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगिसकेको निमित्त सूचना अधिकारी चौहानले बताए ।
नेपाल–भारत सीमा क्षेत्रमा पर्ने बाहुनडाँगी र आसपासका क्षेत्रमा भारततर्फबाट आउने जंगली हात्तीको बथानले वर्षौँदेखि जनधनको क्षति पुर्याउँदै आएको छ ।

















