झापा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सामाजिक सञ्जालमा गरिने छोटो र सांकेतिक पोस्टहरूले पुनः एकपटक राजनीतिक वृत्त र आम नागरिकमाझ चर्चा र कौतूहल पैदा गरिदिएको छ। आइतबार साँझ प्रधानमन्त्री शाहले आफ्ना दुई मन्त्रीहरूलाई दायाँ-बायाँ राखेर अँगालो मारिरहेको एउटा तस्बिर सार्वजनिक गर्दै उनीहरूलाई ‘देश बनाउने टोली’ को संज्ञा दिएका छन्।

कालो पहिरनमा सजिएका प्रधानमन्त्रीले तस्बिरसँगै ‘पीएम, एचएम, आईएम’ (PM, HM, IM) लेखेका छन्। यसलाई राजनीतिक विश्लेषक र आम सर्वसाधारणले ‘प्राइम मिनिस्टर’ (प्रधानमन्त्री), ‘होम मिनिस्टर’ (गृहमन्त्री) र ‘इन्फ्रास्ट्रक्चर मिनिस्टर’ (भौतिक पूर्वाधार मन्त्री) को सांकेतिक अर्थका रूपमा बुझेका छन्।

सार्वजनिक गरिएको उक्त तस्बिरमा प्रधानमन्त्री शाहको दायाँतर्फ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र बायाँतर्फ भर्खरै पुनर्बहाली भएका गृहमन्त्री सुधन गुरुङ देखिनुभएको छ। तीनजना नेताहरू मुस्कुराउँदै अँगालो मारिरहेको उक्त तस्बिर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा भाइरल बनेको छ र त्यसमा प्रतिक्रिया दिनेहरूको बाढी नै आएको छ।

प्रधानमन्त्री शाह पछिल्लो समय सामाजिक सञ्जालमा निकै संक्षिप्त तर अर्थपूर्ण पोस्टका कारण चर्चामा रहने गरेका छन्। यसअघि शनिबार मात्रै उनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टबाट एउटा स्टाटस लेख्दै ‘आफ्नो फेवरेट (प्रिय) देशले विश्वकप नखेलेको’ उल्लेख गर्नुभएको थियो, जसले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो।

विशेषगरी गृहमन्त्री गुरुङको हालै भएको पुनर्बहाली र भौतिक पूर्वाधार मन्त्री लम्सालसँगको यो निकटतालाई धेरैले सरकारभित्रको बलियो सहकार्य र आगामी कार्यदिशाको सङ्केतका रूपमा हेरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार