नेपालको सुदूरपूर्वी जिल्ला झापा जैविक र सांस्कृतिक विविधताका लागि मात्र नभएर प्राचीन मानव सभ्यताको ऐतिहासिक धरोहरका रूपमा पनि उत्तिकै समृद्ध छ भन्ने तथ्यलाई भद्रपुर नगरपालिका वडा नम्बर ३ मा अवस्थित किच्चकबध स्थलले पुनः प्रमाणित गरिदिएको छ। देउनिया र मेची नदीको पवित्र सङ्गम स्थलमा अवस्थित यस ऐतिहासिक भूमिमा हालै सम्पन्न नवौँ चरणको उत्खननले नेपाली इतिहासको पानामा एउटा नयाँ र गौरवशाली अध्याय थपिदिएको छ। महाभारतकालीन विराट राजाका सालो किच्चकको भव्य दरबार र गढी रहेको जनविश्वास बोकेको यस स्थललाई केवल पौराणिक किंवदन्तीमा मात्र सीमित राख्न नमिल्ने अकाट्य प्रमाणहरू विज्ञानले समेत प्रस्तुत गरिसकेको छ। विगतका सामग्रीहरूको बेलायतमा गरिएको ‘कार्बन डेटिङ’ परीक्षणले यो सभ्यता इशापूर्व प्रथम शताब्दी अर्थात् आजभन्दा २२ सय वर्ष पुरानो शुङ्ग-कुषाणकालीन र गुप्तकालीन उन्नत मानव सभ्यता भएको पुष्टि गरिसकेको छ। नवौँ चरणको उत्खननका क्रममा दरबारको भग्नावशेषभित्र फेला परेको प्राचीन ‘शौचालय’ र गहिरो जगको बनोटले तत्कालीन समयको हाम्रा पुर्खाहरूको वास्तुशिल्प र सरसफाइप्रतिको सचेतता कति उच्च कोटीको थियो भन्ने कुरालाई ऐना झैँ छर्लङ्ग पारेको छ।
यति महान् र गौरवशाली पुरातात्विक धरोहरमाथि राज्यले गरिरहेको व्यवहार र उदासीनता भने अत्यन्तै लज्जास्पद र निराशाजनक देखिन्छ। वि.सं. २०५८ सालदेखि निरन्तर रूपमा वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यको प्राविधिक नेतृत्वमा उत्खनन भइरहेको भए तापनि राज्यले यसको संवेदनशीलता र महत्त्वलाई कहिल्यै बुझ्न सकेन। पछिल्लो समय त सरकारले यस क्षेत्रको विकास र उत्खननका लागि दिँदै आएको न्यून बजेटमा समेत कटौती गरेर इतिहासमाथि नै क्रूर मजाक गरेको छ। यस वर्ष पुरातत्व विभागले केवल १० लाख रुपैयाँ मात्र बजेट विनियोजन गर्नु र जेठ ८ गतेदेखि ३० गतेसम्म मात्र सीमित जनशक्तिबाट काम गराएर टोली फर्कनुले राज्यको प्राथमिकता कहाँ छ भन्ने प्रश्न उब्जाएको छ। थोरै-थोरै बजेट दिएर वर्षेनी केही दिन मात्र उत्खनन गर्दा खनिएका प्राचीन संरचनाहरू फेरा पुरिने, हावापानीका कारण खिइँदै जाने र पुरातात्विक वस्तुहरू सदाका लागि नष्ट हुने जोखिम उत्तिकै रहन्छ। पत्रकार सम्मेलनमा भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले व्यक्त गर्नुभएको आक्रोश र सकसपूर्ण अवस्थाले स्थानीय सरकार कति असहाय बनेको छ भन्ने कुरालाई दर्शाउँछ। देशकै अमूल्य सम्पदा राष्ट्रको पहिचान बन्नुपर्नेमा बजेट अभावकै कारण हरेक वर्ष काम अधुरो छाड्नुपर्ने विवशता राष्ट्रिय लज्जाको विषय हो।
बजेटको अभाव मात्र होइन, मानवीय अतिक्रमण र चेतनाको कमीका कारण पनि किच्चकबध क्षेत्र उत्तिकै सङ्कटमा परेको छ। १० बिघाको यस संवेदनशील क्षेत्रभित्र जथाभाबी रूपमा मानव निर्मित आधुनिक मन्दिर, पोखरी र अन्य भौतिक संरचनाहरू निर्माण गर्दा जमिन मुनि पुरिएका अमूल्य सम्पदाहरू ध्वस्त भइरहेका छन्। उत्खनन गरिएका र संरक्षित क्षेत्रमा सर्वसाधारणको अनियन्त्रित आवतजावत हुनु र प्राचीन संरचनामाथि नै टेकेर हिँड्नाले अमूल्य इँटाहरू भत्किने क्रम बढेको छ। स्थानीय संरक्षण समिति र सरोकारवालाहरूले यस क्षेत्रलाई पूर्ण रूपमा घेराबेरा गरेर मानवीय हस्तक्षेप रोक्न ढिला भइसकेको छ। यदि हामीले समयमै यसको वैज्ञानिक संरक्षण गर्न सकेनौँ भने हाम्रा आगामी पुस्ताले इतिहासको यो जीवन्त पाना कहिल्यै पढ्न पाउने छैनन् र यो गौरव सधैँका लागि माटोमा विलीन हुनेछ।
अबका दिनमा केन्द्र सरकारको मुख मात्र ताकेर बस्ने समय निश्चित रूपमा छैन। भद्रपुर नगरपालिकाले कोशी प्रदेश सरकारसँग बजेट प्राप्तिका लागि गरिरहेको विशेष पहल सकारात्मक र स्वागतयोग्य छ। विज्ञहरूका अनुसार यदि राज्य वा कुनै आधिकारिक निकायले एकैपटक करिब एक देखि डेढ करोड रुपैयाँ बजेट उपलब्ध गराउने हो भने लगातार तीन-चार महिनाको निरन्तर कार्यबाट सम्पूर्ण १० बिघा क्षेत्रकै उत्खनन कार्य एकैपटक सम्पन्न गर्न सकिन्छ। त्यसैले, प्रदेश र स्थानीय सरकार मिलेर एउटा बृहत् एकीकृत गुरुयोजना निर्माण गर्न आवश्यक छ। उत्खनन गरिएका दरबारका जग र शौचालयलाई अत्याधुनिक प्रविधि र सिसाले ढाकेर खुला सङ्ग्रहालयका रूपमा विकास गरिनुपर्छ। छिमेकी मुलुक भारतको विहार र पश्चिम बङ्गालको सिमाना नजिकै रहेको यस स्थललाई नेपालकै प्रमुख ऐतिहासिक तथा पर्यटकीय सम्पदा सूचीमा सूचीकृत गराई अन्तर्राष्ट्रिय धार्मिक-ऐतिहासिक पर्यटन सर्किटमा जोड्न सके यसले राष्ट्रिय अर्थतन्त्रमै ठुलो टेवा पुर्याउनेछ। हल्दिबारी डटकम राज्यका तीनै तहका सरकार, पुरातत्व विभाग र स्थानीय सरोकारवालाहरूलाई किच्चकबधको अस्तित्व रक्षा र यसको बृहत् उत्खननका लागि अविलम्ब एकीकृत कदम चाल्न जोडदार माग गर्दछ। हाम्रा ऐतिहासिक धरोहरहरू नै हाम्रा पहिचान हुन्, यिनको संरक्षणमा खेलबाड नगरियोस्।

















