झापा । भद्रपुर नगरपालिका-८ स्थित उडल्याण्ड होटलमा धारिलो हतियार देखाई गुण्डागर्दी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू दुवै जना जिल्ला निर्वाचन कार्यालय झापाका कर्मचारी रहेको खुलेको छ ।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका-१० बस्ने ३६ वर्षीय कविराज गुरागाईँ र बिर्तामोड नगरपालिका-७ बस्ने ३० वर्षीय पराजय चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेठ २८ गते राति करिब १ बजेको समयमा उनीहरू होटलभित्र प्रवेश गरी कत्ति र खुकुरी जस्ता धारिलो हतियार देखाएर सर्वसाधारण तथा होटल सञ्चालकलाई त्रसित बनाउँदै गुण्डागर्दी गरिरहेको विशेष सूचना प्रहरीलाई प्राप्त भएको थियो ।
सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट तत्काल प्रहरी टोली होटल पुगेको थियो । प्रहरी आएको चाल पाएपछि आरोपीहरू आफूसँग भएका धारिलो हतियार त्यहीँ फालेर फरार भएका थिए ।
फरार भएका उनीहरूको खोजीका लागि प्रहरी निरीक्षक विजय चौहानको कमाण्डमा विशेष टोली खटाइएको थियो । खोजीकै क्रममा भोलिपल्ट अर्थात् जेठ २९ गते दिउँसो २ बजे भद्रपुर नगरपालिका-१० स्थित जिल्ला निर्वाचन कार्यालय अगाडिबाट दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

















