झापा ।हल्दीबारी अपाङ्गता स्वावलम्बन संस्थाको दोस्रो वार्षिक साधारण सभा तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लालबहादुर कन्दङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा हल्दीबारी गाउँपालिकाका पाँचवटै वडाका मिलिजुली समूहका पदाधिकारीहरूको सहभागिता थियो ।
कार्यक्रमका प्रमुख अतिथि हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले अपाङ्गता भएका व्यक्तिहरूको हकहित र क्षमता विकासका लागि स्थानीय सरकार सधैँ सकारात्मक रहेको बताए । विशिष्ट अतिथि हल्दीबारीका वडा अध्यक्ष शुकलाल राजवंशीले संस्थाले गर्दै आएका गतिविधिको प्रसंशा गरे ।
कार्यक्रममा गाउँपालिकाकी सहकारी प्रमुख कविता कर्ण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगर, एकता बहुउद्देश्यीय सहकारीका अध्यक्ष हरिकृष्ण अधिकारी र झापा गाउँपालिकाका सिविआर एफओ प्रकाश गणेशले अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक र आर्थिक रूपमा सबल बनाउनुपर्नेमा जोड दिए ।
साधारण सभामा संस्थाकी उपाध्यक्ष हरिमाया मिश्रले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिलकुमार राजवंशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि छलफल गर्दै आगामी दिनमा संस्थागत सुदृढीकरण, अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास र सामाजिक–आर्थिक सशक्तीकरणका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
हल्दीबारीका सिविआरएफ शिबु मुर्मु र बलराम बनले व्यवस्थापन गरेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामप्रसाद टुडुले गरेका थिए ।

















