काँकरभिट्टा — झापाको पूर्वी नाकाबाट नेपालतर्फ अवैध रूपमा प्रवेश गर्ने एक बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतको पानीट्यांकी हुँदै मेची खोलाको बाटो भएर गैरकानुनी रूपमा नेपाल छिर्दै गरेका ३३ वर्षीय एमडी सैफुल इस्लामलाई प्रहरीले पक्राउ गरेको हो । बंगलादेशको चाँदपुर जिल्ला (तुलतोली कचुवा मनोहरपुर–३६३०) स्थायी घर भएका उनी बंगलादेशी राहदानीसहित फेला परेका थिए ।
शनिबार (जेठ ३० गते) दिउँसो पौने १ बजे मेचीनगर नगरपालिका–६ गैरीगाउँस्थित सीमा क्षेत्रबाट उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अनधिकृत रूपमा सीमा पार गरिरहेका इस्लामलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गरिएपछि थप कारबाहीका लागि काठमाडौंस्थित अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ । खुला सीमाको फाइदा उठाउँदै मेची खोलाको मार्ग भएर बंगलादेशी नागरिकहरू अवैध रूपमा नेपाल छिर्ने क्रम बढ्दो छ, जसमाथि प्रहरीले निगरानी बढाएको छ ।

















