नेत्र विक्रम बिमली / भद्रपुर, झापा।

​दक्षिणी झापाको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको महाभारतकालीन स्थल किच्चकबधमा नवौँ चरणको उत्खनन तथा अनुसन्धान कार्य सम्पन्न भएको छ। भद्रपुर नगरपालिका–३ स्थित देउनिया र मेची नदीको किनारमा अवस्थित १० बिघा क्षेत्रमा फैलिएको तथा यस क्षेत्रकै प्रमुख पर्यटकीय एवं धार्मिक आर्थिक केन्द्रका रूपमा विकास भइरहेको किच्चकबध स्थलमै आज एक विशेष पत्रकार सम्मेलनको आयोजना गरी उत्खननको पछिल्लो अवस्था र प्रगतिका बारेमा जानकारी दिइएको छ।

​पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, पुरातत्वविद् उद्धव आचार्य, मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहाल लगायतले किच्चकबधको ऐतिहासिक महत्त्व, चुनौती र यसको भावी गुरुयोजनाका बारेमा चर्चा गर्नुभएको थियो।

​जेठ ८ देखि ३० गतेसम्म १६ जनाको टोलीद्वारा उत्खनन

​पुरातत्व अधिकृत नवराज अधिकारीले दिनुभएको जानकारी अनुसार यस वर्षको नवौँ चरणको उत्खनन कार्य जेठ ८ गतेदेखि सुरु भई जेठ ३० गतेसम्म सञ्चालन गरिएको थियो। उत्खनन कार्यमा वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यको प्रमुख नेतृत्व रहेको थियो भने पुरातत्व अधिकृत नवराज अधिकारी, फोटोग्राफर राम श्रेष्ठ लगायत प्राविधिक र कामदार गरी दैनिक १६ जनाको टोलीले निरन्तर रूपमा उत्खनन र अनुसन्धानको कार्य गरेको अधिकृत अधिकारीले बताउनुभयो।

​नगरप्रमुख पोखरेलको आक्रोश: बजेट कटौतीले समस्या, सम्पदा सूचीमा राख्न छलफल तीव्र

​पर्यटकीय एवं धार्मिक रूपमा प्रचुर सम्भावना बोकेको किच्चकबध स्थलमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले सरकारको उदासीनताप्रति चिन्ता व्यक्त गर्नुभयो। सरकारले उपलब्ध गराउँदै आएको न्यून बजेट समेत कटौती गरिदिँदा यो ऐतिहासिक क्षेत्रको उत्खनन र संरक्षण गर्न निकै सकस (कठिन ) परिरहेको नगरप्रमुख पोखरेलले उल्लेख गर्नुभयो।

​यद्यपि, स्थानीय सरकार यसको विकासमा लागिपरेको बताउँदै उहाँले कोशी प्रदेश सरकारसँग आवश्यक बजेट प्राप्तिका लागि विशेष पहल भइरहेको जानकारी दिनुभयो। प्रदेश सरकारबाट बजेट प्राप्त हुनासाथ उत्खननको बाँकी कार्यलाई तीव्रताका साथ सम्पन्न गरिने र यस क्षेत्रलाई नेपालकै प्रमुख ऐतिहासिक तथा पर्यटकीय सम्पदा सूचीमा समावेश गराउनका लागि सरोकारवालाहरू र विज्ञहरूसँग निरन्तर छलफल भइरहेको समेत उहाँले प्रस्ट पार्नुभयो।

​नवौं  चरणको उत्खनन: प्राचीन ‘शौचालय’ समेत फेला

​वि.सं. २०५८ सालदेखि निरन्तर उत्खननको नेतृत्व गर्दै आउनुभएका वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यका अनुसार यस पटकको नवौँ चरणको उत्खननका क्रममा थप नयाँ र रोचक ऐतिहासिक तथ्यहरू फेला परेका छन्। यस चरणमा प्राचीन दरबारको संरचनाभित्र ‘शौचालय’ समेत फेला परेको उहाँले खुलासा गर्नुभयो।

​पुरातत्वविद् आचार्यले भन्नुभयो, “अहिलेसम्म भेटिएका पुरातात्विक सामग्रीहरूले २२ सय वर्ष पुरानो उन्नत मानव सभ्यता र बास्तुकलालाई प्रमाणित गरिसकेका छन्। तर, यो क्षेत्र निकै विशाल भएकाले पूर्ण रूपमा उत्खनन सकिएपछि मात्रै यसको विस्तृत रूप र समग्र इतिहासको अन्तिम वर्णन गर्न सकिन्छ।”

​सातौँदेखि नवौँ चरणसम्मको उपलब्धि

​विगतका उत्खननहरूमा यहाँ उत्तर-पूर्वमा एउटा ठुलो बहुतले भवन, त्यसकै दक्षिणमा अर्को भवन, उत्तर-पश्चिममा सेन्ट्री (सुरक्षा पोष्ट) र दक्षिणतर्फ सुरक्षा प्रमुख बस्ने गरी कुल ५ वटा भवनका संरचना फेला परिसकेका छन्।

​पछिल्ला चरणमा मानव निर्मित मन्दिर हटाइएका स्थानहरूमा तीन मिटरभन्दा गहिरो प्राचीन ‘दरबारको जग’ र पुराना इँटाहरू फेला परेका छन्। यसअघि फेला परेका भाला, बाण, माटाका भाँडावर्तन र हात्ती-घोडालाई लगाइने सामानहरूको बेलायतमा ‘कार्बन डेटिङ’ (वैज्ञानिक परीक्षण) गर्दा यो सभ्यता इशापूर्व प्रथम शताब्दी (२२ सय वर्ष पुरानो) को भएको प्रमाणित भइसकेको छ। यो समय भारतमा शुँघ कुषाण काल र गुप्तकालसम्म विकसित रहेको र पछि प्राकृतिक विपत्तिका कारण ध्वस्त भएको अनुमान फ्रेन्च भूगर्भविद्हरूको अध्ययनले समेत देखाएको छ।

​सीमित बजेट मुख्य चुनौती: एक करोड भए ३ महिनामै काम सकिने

​सरकारले यस पुरातात्विक धरोहरको संरक्षण र उत्खननका लागि पर्याप्त लगानी गर्न नसक्दा हरेक वर्ष काम अधुरो रहने गरेको छ। यस वर्ष विभागले केवल १० लाख रुपैयाँ मात्र बजेट छुट्याएर दैनिक रूपमा संरक्षणको काम गरेको पुरातत्व विभागका प्रतिनिधिहरूले बताएका छन्।

​थोरै-थोरै बजेटले उत्खनन गर्दा धेरै वर्ष लाग्ने र पुरातात्विक वस्तुहरू नष्ट हुने जोखिम बढ्ने भएकाले यदि सरकार वा सरोकारवाला निकायले करिब १ देखि डेढ करोड रुपैयाँ बजेट उपलब्ध गराउने हो भने लगातार ३-४ महिना जनशक्ति परिचालन गरेर समग्र उत्खननको काम एकैपटक सम्पन्न गर्न सकिने जानकारी पत्रकार सम्मेलनमा दिइयो।

​मानव निर्मित संरचना र आवतजावतले जोखिम

​किच्चकबध क्षेत्रमा पछिल्लो समय जथाभाबी रूपमा बनाइएका नयाँ मन्दिर, पोखरी र अन्य भौतिक संरचनाका कारण ऐतिहासिक अवशेषहरू नष्ट भइरहेका छन्। विगतमा सो क्षेत्रमा खनजोत गरी खेतीपाती गरिएकाले पनि भूसतहका कतिपय सामग्री नष्ट भइसकेको विभागको आशङ्का छ।

​पुरातत्वविद् आचार्यले उत्खनन गरिएका र संरक्षित क्षेत्रमा मानिसहरू टेकेर हिँड्दा संरचना भत्किने भएकाले आवतजावतमा रोक लगाउनुपर्ने र स्थानीय संरक्षण समितिले यसलाई सुरक्षित राख्न विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

​किंवदन्ती र ऐतिहासिकता

​पौराणिक मान्यता अनुसार महाभारतकालमा विराट राजाका सालो ‘किच्चक’ को दरबार यहीँ रहेको विश्वास गरिन्छ। पाँच पाण्डवहरू गुप्तवास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले विराटनगरदेखि लखेटेर किच्चकलाई यही स्थानमा ल्याई वध गरेका थिए, जसका कारण यसको नाम ‘किच्चकबध’ रहन गएको हो। लिखित दस्तावेज फेला नपरे पनि यहाँ फेला परेका वास्तुशिल्प र संरचनाले यो एक ऐतिहासिक किल्ला र दरबार रहेको अकाट्य प्रमाण प्रस्तुत गरेको विज्ञहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार