एजेन्सी । भारतको उत्तर-पूर्वी राज्य असममा भारतीय वायुसेना (आईएएफ) को एउटा ‘एएन–३२’ परिवहन (कार्गो) विमान दुर्घटनाग्रस्त भएको छ । शनिबार असमको जोरहाटस्थित सैन्य विमानस्थल (एयरफोर्स स्टेशन) भित्रै विमान दुर्घटनामा परेको भारतीय अधिकारीहरूले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार विमानस्थल परिसरभित्रै खसेको विमानमा दुर्घटनालगत्तै भीषण आगलागी भएको थियो । घटनालगत्तै वायुसेनाको आपत्कालीन तथा उद्धार टोलीले आगो नियन्त्रणमा लिई स्थिति सम्हाल्ने प्रयास गरेका थिए ।
भारतीय वायुसेनाले दुर्घटनाको पुष्टि गरे पनि मानवीय क्षतिको आधिकारिक विवरण भने सार्वजनिक गरिसकेको छैन । तर, प्रारम्भिक रिपोर्टहरूले विमानका पाइलट हताहत भएको हुनसक्ने आशंका गरेका छन् । दुर्घटनाको कारण पत्ता लगाउन वायुसेनाले उच्चस्तरीय छानबिन टोली गठन गरी अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।
दुर्घटनामा परेको ‘एएन–३२’ भारतीय वायुसेनाको प्रमुख मालवाहक विमान हो । यसलाई मुख्यतः सैनिक टोली, सैन्य सामग्री र दुर्गम तथा पहाडी क्षेत्रमा आवश्यक बन्दोबस्तीका सामान ढुवानीका लागि प्रयोग गर्ने गरिन्छ । यसअघि पनि सन् २०१९ मा असमको जोरहाटबाटै उडेको वायुसेनाको एउटा एएन–३२ विमान अरुणाचल प्रदेशको पहाडी क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार १३ जनाकै मृत्यु भएको थियो ।

















