फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले फिफा विश्वकपको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडीको रूपमा नयाँ कीर्तिमान कायम गर्दै इतिहास रचेका छन्। आइतबार बिहान इंग्ल्याण्डविरुद्ध भएको खेलमा दुई महत्वपूर्ण गोल थप्दै २७ वर्षीय एमबाप्पेले जारी प्रतियोगितामा आफ्नो गोल संख्या १० पुर्याएका हुन्। यो सँगै उनी २०२६ फिफा विश्वकपको ‘गोल्डेन बुट’ जित्ने दौडमा सबैभन्दा अगाडि देखिएका छन्।

इंग्ल्याण्डविरुद्धको उत्कृष्ट प्रदर्शनपछि एमबाप्पेले विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्या २२ पुर्याउँदै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको २१ गोलको कीर्तिमानलाई पछि पारेका हुन्। यसका साथै उनी लगातार दुईवटा विश्वकप संस्करणमा आठ वा सोभन्दा बढी गोल गर्ने विश्वकै पहिलो खेलाडी समेत बनेका छन्। उनले यसअघि सन् २०२२ को कतार विश्वकपमा पनि आठ गोल गर्दै गोल्डेन बुट जितेका थिए।

जारी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा एमबाप्पे अहिले १० गोलसहित शीर्ष स्थानमा छन्। उनलाई पछ्याइरहेका अर्जेन्टिनाका लियोनल मेस्सीको आठ गोल र इंग्ल्याण्डका जुड बेलिङ्घमको सात गोल रहेको छ। एमबाप्पेले जारी प्रतियोगितामा विना पेनाल्टी सबैभन्दा बढी गोल गर्ने खेलाडीको रूपमा पनि आफूलाई स्थापित गरेका छन्।
एमबाप्पेले उपाधिमा आफ्नो पकड बलियो बनाए पनि गोल्डेन बुटको यो प्रतिस्पर्धा अझै पूर्ण रूपमा समाप्त भइसकेको छैन। आइतबार राति हुने स्पेन र अर्जेन्टिनाबीचको फाइनल खेलमा लियोनल मेस्सी मैदान उत्रिँदै छन्। मेस्सीसामु फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एमबाप्पेको कीर्तिमानलाई चुनौती दिने र गोल्डेन बुटको उपाधि आफ्नो नाममा पार्ने अन्तिम अवसर अझै बाँकी छ। यदि फाइनल खेलमा मेस्सीले गोल थप्न नसकेको खण्डमा एमबाप्पेले लगातार दोस्रो पटक विश्वकपको प्रतिष्ठित गोल्डेन बुट आफ्नो कब्जामा पार्ने निश्चित छ।
