कमला भट्टराई- झापा। कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन् । दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् ।
मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए । विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रासमेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुल्ला गरिनुपर्ने बताए । तर सरकारबाट अहिलेसम्म कुनै निर्णय आइनसकेको उनले बताए ।

स्थानीय भक्तजनहरुको आग्रहमा कात्तिक १ गतेदेखि धेरै भीड नहुने गरी भक्तालुका लागि खुल्ला गरिने बताए । गुठियारहरुसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले बताए । कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनै पनि मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो । यससँगै काठमाडौं उपत्यकाका मुख्य शक्तिपीठहरुमा समेत नियमित पूजा आजाबाहेकका सबै गतिविधि बन्द गरिएको छ ।
अन्य क्षेत्रलाई खुल्ला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिरलाई खुल्ला गर्ने निर्णय गरिसकेको छैन । तर अधिकांश मन्दिरहरु कात्तिक एक गतेदेखि सीमितरुपमा भए पनि खुल्ला गर्ने तयारीमा जुटेका छन्

















