प्रदेश १ मा संस्कृत विषय पठन पाठन गराउने पहिलो विद्यालय चन्द्र संस्कृत माध्यमिक विद्यालय धरान (सुनसरी)ले कक्षा १ देखी ७ सम्मका विद्यार्थी लाई निःशुल्क विद्यालय पोषाका वितरण गरेको छ । जाडो मौसममा स्कुल आउने साना बालबालिकाहरु कठ्याङग्रीने सम्मको अवस्थामा पाइएकाले विद्यालयले निशुल्क न्यानो पोषाक वितरण गरेको हो । अधिकांश विद्यार्थीहरु संग चिसो छल्ने स्कुल ड्रेस सम्म नभएकोले बालबालिकाको उपस्थिति अतिन्यून हुने गरेको सहायक प्रधानाध्यापक तारा राईले बताए ।
धरान–१६ स्थित चन्द्र संस्कृत मावि २०२१ साल देखी सञ्चालन हुँदै आएको धरानको पुरानो सामुदायीक विद्यालय हो । विद्यालयले आफ्नै आन्तरिक श्रोत खर्च गरेर बालबालिका पोषाक वितरण गरेको बताइएको छ । विद्यालयमा विहीवार अभिभावकहरुको उपस्थितिमा आयोजित एक कार्यक्रमका विच पोषाक वितरण गरिएको हो । उक्त अवसरमा सहायक प्रधानाध्यापक राईले विद्यालयले ५० हजार रुपैया खर्च गरी अतिन्यून आय भएका विद्यार्थीलाई पोषाक दिइएको बताए ।
उनले भने ‘यसबाट चिसो छल्ने पोषाक नहुने विद्यार्थीहरुको दैनिक उपस्थिति बढ्ने विश्वास गरिएको छ ।’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्राडा. आनन्दप्रसाद आचार्यले धरानको पुरानो इतिहास जोडिएको विद्यालय प्रति पछिल्लो समय विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताउँदै भने ‘स्थानिय र अभिभावकहरुको लगाव र विश्वास बढाउन नयाँ कार्यक्रम ल्याएका छौं, भविष्यमा पनि थप नयाँ कार्यक्रम ल्याउने छौं ।’
विद्यार्थीलाई विद्यालयको आन्तरिक श्रोतबाट प्रतिमहिना ४०० रुपैया छात्रवृत्तिका रुपमा पनि दिँदै आएको उनले बताए । अध्यक्ष आचार्यका अनुसार विद्यालयप्रति अहिले समुदायको आकर्षण बढेको र देशभित्रबाट मात्र नभएर देश बाहिरबाट पनि छात्रावासमा बसी अध्ययन गर्ने विद्यार्थीहरु बढी भएकाले अहिले छात्रावासको वस्ने कोटा अतिन्यून रहेको छ । विद्यार्थी संख्या बढे अनुसार भविष्यमा छात्रावासको क्षमता बढाउन दाताहरु बाट सहयोगको खाँचो रहेको छ ।
आचार्यले भने ‘छात्राबासको क्षमताले नपुग्दा बस्ने ठाउँ नभएर यसपाली कक्षा ११ मा पढ्ने विद्यार्थीलाई फिर्ता पठाउनु परेको छ ।’ आचार्यको सभापतित्वमा भएको कार्यक्रम सन्चालन शिक्षक सूर्यकुमार अधिकारीले गरेका थिए । -देवेन्द्र आलोक

















