काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पाँचौँपटक प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । डडेलधुरामा २००३ सालमा जन्मिएका उनी मंगलबार मुलुकको बागडोर सम्हाल्न पुगेका छन् ।

ज्योतिषीले देउवालाई सातपटक प्रधानमन्त्री बन्ने बताएका बेला मंगलबार उनको सत्तारोहण अदालतको आदेशले गराएको छ । कम्युनिष्टको दुई तिहाइ नजिकको केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर देउवा मुलुकको बागडोर सम्हाल्न पुगेका हुन् ।

२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्याथी विद्यार्थी संघमार्फत विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा सुरु गरेका देउवा पाँचौँपटक सत्तासिन हुन पुगेका छन् ।

२०५८ असोज १८ आफैंले असक्षम प्रधानमन्त्री भन्दै बर्खास्त गरेका देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पुनः प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । संविधान सभाबाट संविधान जारी भएपछि उनकै सरकारले प्रतिनिधि सभाको निर्वाचन गराएको थियो ।

प्रजातन्त्रलाई राजालाई बुझाएको आरोप खेपेका उनी स्पष्ट वक्ताको रुपमा चिनिँदै आएका छन् । नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, पार्टी सभापति र पाँचौँपटक प्रधानमन्त्री बनेर देउवाले राजनीतिक शिखरमा छन् ।

राजनीति यात्राका क्रममा उनी पञ्चायतविरोधी गतिविधि गरेको आरोवमा पटक–पटक जेल जीवन बिताएका छन् । पछिल्लो समय तत्कालीन राजा ज्ञानेन्द्रको शासन कालमा पनि देउवा भ्रष्टाचार अभियोगमा जेल परेका थिए। पटक पटक गरेर उनको जेल बसाइ करिब नौ वर्ष रहेको प्रतिनिधिसभाको वेबसाइटमा राखिएको परिचयात्मक भिडियोमा देउवा स्वंयले बताएका छन्।

२०४६ सालको जनआन्दोलनपछि सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेस पार्टीको राजनैतिक प्रमुखको भूमिकामा रहेका देउवा त्यसपछि २०४८ सालमा डलेलधुराबाट सांसद बने ।

२०४८ सालको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा देउवा गृहमन्त्री बने । २०५१ सालको मध्यावधि चुनावपछि संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बनेका देउवा २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बने ।

एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि देउवा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । सोही बेला माओवादीहरुले विभिन्न ४० बुँदे माग राखेर माओवादी सशस्त्र संघर्षमा होमिएको थियो ।

ठूलो मन्त्रिमण्डल बनाउने प्रधानमन्त्रीको पर्याय बनेका देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। यसअघि उनी २०५६ सालमा डडेलधुराबाट निर्वाचित भएका थिए ।

२०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डको दोस्रो महिना साउनमै देउवा दोस्रोपटक प्रधानमन्त्री बने । तर, उनलाई सोही वर्षको असोज १८ गते राजा ज्ञानेन्द्रले असक्षम प्रधानमन्त्री भन्दै पदच्युत गरे। तर, उनै ज्ञानेन्द्रले फेरि २०६१ साल जेठमा देउवालाई तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त गरे ।

जेठमा प्रधानमन्त्रीमा नियुक्त गरेका देउवालाई सोही वर्षको माघ १९ गते फेरि तत्कालीन राजा ज्ञानेन्द्रले बर्खास्त गरेर मुलुकको बागडोर आफ्नो हातमा लिए ।

प्रधानमन्त्रीबाट बर्खास्त गरेर देउवामाथि भ्रष्टाचारको आरोप लगाइयो र राजाले गठन गरेको शाही आयोगमार्फत छानबिन अगाडि बढाइएको थियो । तर, उक्त आयोगलाई देउवाले बयान दिन इन्कार गरेका थिए । तर, पछि सर्वोच्च अदालतले शाही आयोगलाई नै खारेज गरिदिएपछि देउवा रिहा भएका थिए ।

२०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर देउवाले नेपाली कांग्रेस ९प्रजातान्त्रिक० गठन गरेका थिए । कांग्रेस प्रजातान्त्रिकको उनी सभापति बने । तर, आन्तरिक अन्तरद्वन्द्वका कारण कांग्रेस फुटाएर नयाँ पार्टी गठन गरेका देउवाले २०६२-६३ सालको जनआन्दोलनपछि २०६४ सालमा नेपाली कांग्रेससँग पार्टी एकीकरण गरे ।

सोही क्रममा २०७२ सालमा संविधान जारी भएपछि उक्त संविधानले व्यवस्था गरेअनुसार राज्यको पुनर्संरचना गर्ने क्रममा २०७४ सालमा माओवादीको समर्थनमा देउवा चौथो पटक प्रधानमन्त्री बनेर प्रतिनिधि सभाको सफल निर्वाचन गराउन सक्षम भए ।

२०७२ फागुनमा भएको पार्टीको १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवा २०७८ असार २९ गते पाँचौँपटक प्रधानमन्त्री बनेका हुन् । देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन्। क्यानाडा नेपालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार