देवेन्द्र आलोक- हल्दिबारी न्यूज डेक्स , असार १६। मादक पदार्थ सेवन गरेर वार्तामा आएको भन्दै सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीलाई आन्दोलनरत चिकित्सक र कर्मचारीहरूले कार्यकक्षमै थुनेका छन् ।

मङ्गलबार दिउँसो ३ बजे आन्दोलनरत पक्ष र प्रतिष्ठान पदाधिकारीबीच वार्ता भइहरेका बेला उपकुलपति गिरीले बोल्ने क्रममा मापसे गरेर आएको भन्दै आन्दोलनरत पक्ष वार्तास्थलबाट बाहिरिएको थियो । सङ्घर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलको नेतृत्वमा उपकुलपतिको कार्यकक्षमा प्रवेश गर्दा उपकुलपतिले मापसे गरेको पाइएको आन्दोलनकारीहरूको भनाइ छ ।

गिरीको बोली लर्बरिएको र उनी बोल्दा रक्सीको गन्ध आएको भन्दै आन्दोलनकारीले यस्तो अवस्थामा वार्ताको अर्थ नहुने भन्दै वार्तास्थलबाट बाहिर निस्किएर पदाधिकारीहरूलाई थुनेका हुन् । उपकुलपति रक्सी सेवन गरेर अमर्यादित रूपमा वार्तामा आएको भन्दै उनीहरूले वार्ता भाँडिएको बताए ।

आन्दोलनकारीहरूले उपकुलपतिको कार्यकक्ष घेरेका छन् भने उपकुलपतिको मापसे परीक्षण गर्नुपर्ने लगायत माग गर्दै नाराबाजी गरेका छन् । प्रतिष्ठानको बेथिति अन्त्यका लागि आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले सोमबारदेखि आफ्ना माग सम्बोधन नगरेको भन्दै रिले अनसन सुरु गरेर आन्दोलन अघि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार